खुला विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीको तालाबन्दी, निर्णय लिन कार्यकारी परिषद्को बैठक बस्दै

खुला विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीको तालाबन्दी, निर्णय लिन कार्यकारी परिषद्को बैठक बस्दै

काठमाडौं, १३ मंसिर । खुला विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीले ताला लगाएपछि माग सम्बोधन गर्न कार्यकारी समितिको बैठक बस्ने तयारी भएको छ । 

प्राध्यापक र कर्मचारीले स्थायी प्रक्रिया अगाडि बढाउनुपर्ने, सेवासुविधाको व्यवस्था हुनुपर्ने माग राख्दै ताला लगाएका हुन् । रजिस्ट्रार गोविन्दसिंह विष्टले आज बैठक बस्ने तयारी भएको र बैठकमा शिक्षक कर्मचारीको मागको विषयमा छलफल हुने जानकारी दिए ।

संघर्ष समितिका संयोजक उपप्राध्यापक भोजराज घिमिरेले माग सम्बोधन भए उपकुलपति र रजिस्ट्रार कार्यालयको मुल ढोकामा लगाइएको ताला खोल्ने बताए । प्राध्यापक र कर्मचारी गरि ३५ जना आन्दोलित भएका छन् ।

०७५ मा विज्ञापन खोलेर लिखित, प्रयोगात्मक र मौखिक तीनवटै प्रक्रिया पूरा गरेर करारमा नियुक्त गरिएको थियो ।

तर, स्थायीको प्रक्रिया अहिलेसम्म अघि बढ्न सकेको छैन । संघर्ष समितिका संयोजक घिमिरेले सामाजिक सुरक्षा, पेन्सन उपदान र बिमाबाट पनि बञ्चित भएको  गुनासो गरे । 

विश्वविद्यालयको सातौं सिनेटले स्थायी गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । तर, अहिलेसम्म पनि उपकुलपति शिलु बज्राचार्यले प्रक्रिया अगाडि नबढाएको आन्दोलनरत प्राध्यापक र शिक्षकको आरोप छ ।