'कच्चा सुन'को कृतिम अभाव देखाएर व्यापारीको बह्मलुट, अनुगमन नहुँदा उपभोक्ता मारमा

'कच्चा सुन'को कृतिम अभाव देखाएर व्यापारीको बह्मलुट, अनुगमन नहुँदा उपभोक्ता मारमा

काठमाडौं, १७ मंसिर ।  सुन तोकिएको बजार मूल्य भन्दा प्रतितोला पाँच देखि दश हजार रुपैयाँसम्म बढी लिएर किनेबेच भएको पाइएको छ । नेपाली बजारमा कच्चा सुनको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरिएको हो ।

सस्तिएका बेला किनेर व्यापारीले पछि महँगोमा बेच्ने उद्देश्यले लुकाएका कारण सुनको कृत्रिम अभाव देखाएको ग्राहकले गुनासो पोखेका छन् । सुन सस्तिएसँगै माग बढेको भनेर अभाव भएको देखाउँदै व्यापारीले महँगोमा बेचिरहेका छन् ।

सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएको थियो । जसले गर्दा बजारमा सुनको मूल्यमा अत्याधिक गिरावट आयो । यहीँ मौका छोपेर व्यापारीले किनेर राख्ने प्रवृत्ति बढ्दा अभाव सिर्जना भएको छ ।

सुनको मूल्य ओरालो लाग्दा किनेर राख्ने र बढ्दा बेच्ने परिपाटीले अभाव  भएको हो । अहिले सस्तोमा किनेर सुनको भाउ बढेका बेला बेच्दा फाइदा हुने भएकाले सुनको कृत्रिम अभाव सिर्जना गरिएको हो ।

अभाव भएको भन्दै व्यापारीले सकेसम्म ढिका सुन बिक्री गर्न मानिरहेका छैनन् ।   ग्राहकलाइ बेच्नै परे बजार मूल्य भन्दा प्रतितोला पाँच हजारदेखि दश हजार रुपैयाँ भन्दा बढी लिएर दिने गरेको उपभोक्ताको गुनासो गरेका छन् । राजधानीसहितका सुन पसलमा गहना जति पनि बच्ने तर, ढिका सुन भने मौजदात नरहेको भन्दै ग्राहकलाई फिर्ता पठाउने गरिएको छ ।  

कृतिम अभाव किन ?   

कृत्रिम अभाव सिर्जना गरेर ठूला व्यवसायीले कालो बजारमा सुन बेचेर अवैध मुनाफा कमाइरहँदा ग्राहकले भने नोक्सानी व्यहोर्नु परेको छ । सुन सस्तिएका कारण  सुनको माग ह्वात्तै बढेकाले पूर्ति गर्न असहज भएको सुनचाँदी महासंघ स्रोत बताउँछ । ‘भन्सार राजस्व घट्नेवित्तिकै सुन सस्तिएको र माग ह्वात्तै बजारमा बढेको हो, अहिले सुन अपुग छ ।’ एक सुन व्यापारीले भने । 

मंसिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले भन्सार दर २० बाट १० प्रतिशतमा झार्ने निर्णय लिएको थियो । सुनको मूल्य अचाक्ली बढिरहेको अवस्थामा सुनको भन्सारमा ५० प्रतिशत घटेपछि उपभोक्ताले केही सस्तो मूल्यमा पाउने आशा गरिएको थियो । त्यहीँ अपेक्षाअनुसार भन्सारदर घटेको भोलिपल्टै करिब १६ हजार रुपैँयाले सुन सस्तियो ।   सुन आयातको भन्सार दर घटेसँगै उपभोक्तालाई केही राहत हुने अपेक्षा भने सुन व्यापारीको मनोमानीले पूरा हुन सकेन ।

व्यवसायीले बढाए ज्याला–जर्ती शुल्क

तर, गहना व्यवसायीले सर्वसाधारणलाई अपारदर्शी एवं मनलागी रूपमा ज्याला–जर्तीको मूल्य बढाएर भाउमा मनोमानी गरिरहेका छन् ।  यही कारण पनि भन्सार दर घटेअनुसार सर्वसाधारणले सस्तोमा गहना किन्न पाएका छैनन् । मूल्य घटेपछि उनीहरूले जर्ती बढाएर सर्वसाधारणसँग महँगो मूल्य असुलिरहेका छन् ।

यही मंसिर १३ मा एक उपभोक्तालाई बिक्री गरेको बिलमा ज्यालाका नाममा अत्यधिक पैसा असुलेको पाइएको छ । ‘कालोबजारी ऐनअनुसार, २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाइन्न । तर, यहाँ ५६ प्रतिशतभन्दा बढी मुनाफा लिइएको छ, व्यवसायीले उपभोक्तालाई गुमराहमा राखेका छन् । ज्यालाजर्तीका नाममा जति पनि शुल्क लिइएको छ । तर यस विषयमा सरकारी निकाय मौन छ ।’ एक व्यवसायीले भने ।  

अहिले कोटा प्रणालीअनुसार वाणिज्य बैंकलाई मात्रै सुन आयातको अनुमति छ । बैंकहरूले दिनको २० किलो सुन बिक्री गर्न पाउँछन् । त्यो सुन बिक्री गर्न सरकारले ‘सुन बिक्रीवितरण कार्यविधि/निर्देशिका २०६८’ समेत बनाइएको छ ।

नेपालमा उपभोक्ताको हितलाई संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न उपभोक्ता संरक्षण ऐन २०७५, उपभोक्ता संरक्षण नियमावली २०७६, प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन २०६३, नियमावली २०६६, बजार अनुगमन निर्देशिका २०७५ लगायतका कानुनी व्यवस्था रहेको छ । 

भन्सारदर घट्नुको कारण 

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार, अवैधानिक (भन्सार छलेर ल्याइने) सुनको कारोबार बढेको तर वैधानिक सुनको कारोबार न्यून भएकोले भन्सारदर घटाइएको हो ।

यसको मूल कारण भने नेपाल भारतको भन्सार महसुलमा भएको अन्तर नै भएको व्यवसायीहरूको भनाइ छ । विगतमा भारतको तुलनामा नेपालमा भन्सार केही कम थियो। तर, आर्थिक वर्ष २०७९/८० देखि नेपाल भारतमा समान भन्सारदर (१५ प्रतिशत) कायम थियो ।

चालु वर्षको बजेटमा भने नेपालले भन्सार बढाएर २० प्रतिशत पुर्‍याइयो भने भारतले घटाएर ६ प्रतिशतमा झारेको थियो । 

नेपाल र भारतले छुट्टाछुट्टै समयमा बजेट ल्याउने गर्छन्। विगतमा भारतको पहिले र नेपालको पछि बजेट आउने गरेको थियो। सधैं माघ महिनामा बजेट ल्याउने गरेको भारतले निर्वाचनको कारण चालु आर्थिक वर्षको लागि यो पटक भने अन्तरिम बजेट ल्याएको थियो।

त्यसपछि २०८१ असारमा भने पूर्ण बजेट ल्याएको थियो। पूर्ण बजेटमा भारत सरकारले सुनको भन्सार दर घटाएपछि यहाँभन्दा भारतमा सुन सस्तो भइरहेको थियो।

व्यवसायीहरूले भारतको बजेटपछि खुला सिमानाको फाइदा उठाएर नेपालीले भारतीय बजारबाट कारोबार गर्न थालेका थिए ।

वैधानिक सुनको आयात ह्वात्तै घट्यो । चाडपर्वको समयमा दैनिक ४० केजी र औसत समयमा २० केजी सुनको कारोबार हुने गरेको थियो।

तर, पछिल्लो चार महिनामा भने वैधानिक सुनको कारोबार औसतमा दुई केजी मात्रै भएको छ । यसो हुँदा सरकारको राजस्व पनि घट्ने र वैधानिक सुनको कारोबार गर्ने व्यवसायी पनि समस्यामा पर्ने भएपछि व्यवसायीको आग्रह र बजार अनुगमपछि भन्सार घटाइएको अर्थका अधिकारीहरुको भनाइ छ ।  

सुन खपतको अवस्था 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, नेपालमा यसअघिका वर्षमा दैनिक ४०–५० किलोसम्म खपत हुने गरेको सुन पछिल्लो पटक मूल्य आकासिन थालेसँगै दैनिक औसत २० किलोभन्दा कममा झरेको थियो । यसअघि नेपाली बजारमा सुनले दैनिक जसो नयाँ नयाँ कीर्तिमानी उचाई छुँदैआएको थियो । 

नेपाल राष्ट्र बैंकले हाल वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । यसअघि गत असोजसम्म आयात कोटा दैनिक १० किलो मात्र थियो । सुनको अत्यधिक आयातले विदेशी मुद्राको सञ्चिति तथा शोधनान्तर अवस्थामा असर परेपछि सरकारले २०६८ सालमा सुन आयात तथा विक्रीवितरणको जिम्मेवारी राष्ट्र बैंकलाई दिएको थियो । त्यसपछि राष्ट्र बैंकले सुन आयात तथा विक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ जारी गरी आयातको अधिकार वाणिज्य बैंकहरूलाई मात्र दिएको हो । 

यसअनुसार आयातमध्ये ५० प्रतिशत साविक बागमती अञ्चलका आठओटा जिल्लामा र बाँकी ५० प्रतिशत अन्य जिल्लामा विक्री गर्नुपर्छ । बागमतीका लागि छुट्ट्याएको कोटाबाट पनि नेपाल सुनचाँदी व्यवसायी महासंघलाई ५० प्रतिशत, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघलाई ४० प्रतिशत र नेपाल हस्तकला महासंघलाई १० प्रतिशत छुट्ट्याइएको छ । बैंकहरूबाट पाएको सुन व्यवसायीले गरगहना बनाएर मात्र विक्री गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ । 

अनुगमन नहुँदा व्यापारीको मनपरी 

बजार अनुगमनसमेत नगरेर सरकारले जनतालाई ठगिरहेको उपभोक्ताको  आरोप छ । महासङ्घका अनुसार हाल बजारमा दैनिक ५० किलो सुनको माग छ । तर, राष्ट्र बैङ्कले दैनिक २० किलो सुन आयात गर्न अनुमति दिएको छ । अवैध सुन आयातबाट दैनिक ९० लाख रुपैयाँ राजस्व गुमिरहेको व्यवसायीहरूकै तर्क छ । 

यति बेला सरकारले सुनको भन्सार घटाएपछि गहना किन्नेको चाप बढेको छ । तर, उनीहरूले बजारमा सुन नभएको भन्दै त्यति बिक्री गरिरहेका छैनन् । ‘बढेको बेला जति पनि किन्न चाहने व्यवसायीले सुनको भाउ घट्दा बेच्नु पनि पर्छ । आफ्नो अनुकूलतामा कारोबार गर्नु ठगीसरह हो,’ ‘तर सरकारले त्यता ध्यान नै दिएको छैन । बजार मनोमानी चल्दा नियामक निकायले आवश्यक कदम चाल्नुपर्छ ।’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने ।  

सरकारी पक्ष भने बजार अनुगमनसम्बन्धी स्पष्ट मार्गनिर्देशन उल्लेख नगरिएकाले अनुगमनमा सोचेजस्तोगरी अगाडि बढ्न नसकेको बताउँछ । 

कतिमा हुँदैछ आज कारोबार ?

आज सुनको मूल्य प्रतितोला रू एक हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार प्रतितोला रू एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू एक लाख ४९ हजार तीन सय कायम भएको छ ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला रू २५ ले घटेर रू एक हजार आठ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ ।