बेइजिङ पुगे प्रधानमन्त्री ओली, चिनियाँ उपमन्त्रीले गरे विमानस्थलमा स्वागत

बेइजिङ पुगे प्रधानमन्त्री ओली, चिनियाँ उपमन्त्रीले गरे विमानस्थलमा स्वागत

काठमाडौं, १७ मंसिर । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेइजिङमा स्वागत गरिएको छ ।

बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गरेका हुन् ।

सोमबार बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली नेतृत्वको टोली चीन प्रस्थान गरेको थियो ।

भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । त्यसपछि दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ ।

त्यसैदिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनपिङलाई भेटवार्ता गर्नेछन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम छ ।