पोखरामा आज पनि रास्वपाको विरोध प्रदर्शन

पोखरामा आज पनि रास्वपाको विरोध प्रदर्शन

 काठमाडौं, २६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकले आज पनि कास्कीको पोखरामा विरोध प्रदर्शन गरेका छन् । पोखरास्थित पृथ्वीचोकमा अहिले रास्वपा कार्यकर्ताहरू प्रदर्शन गरिरहेका छन् । पार्टी सभापति रवि लामिछानेलाई पनि भर्खरै पोखरा पुर्‍याइएको छ ।

वीरगन्जको साना पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा बयान सकाएपछि प्रहरीले केहीबेर अघि रविलाई पोखरा पुर्‍याएको हो । बाक्लो संख्यामा पोखरामा प्रहरी खटाइएको छ । 

पृथ्वीचोकमा भइरहेको प्रदर्शनमा सहभागीहरूले ‘मानव अधिकार कायम गर, मानव अधिकार उल्लंघन गर्न पाइँदैन, आईजीपीलाई अनुसन्धान गर, भ्रष्ट सरकार मुर्दावाद, सहकारी पीडितलाई न्याय दे’ सहितका नाराहरू लगाइरहेका छन् ।

रवि मुछिएका सहकारीको रकम अपचलन प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।

सबैतिर बयान सकिएसँगै प्रहरीले लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभग अन्तिम चरणतिर पुर्‍याएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख दिपक थापाले जानकारी दिए ।