आज एनपीएलको दोस्रो क्वालिफायर, फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

आज एनपीएलको दोस्रो क्वालिफायर, फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

काठमाडौं, ४ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर टु मा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।

लिग चरणमा चौथो स्थानमा रहेको कर्णाली याक्सले बुधबार भएको एलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै क्वालिफायर टु मा प्रवेश गरेको थियो ।

लिगमा दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर १ मा सुदूरपश्चिम रोएल्ससँग पराजित भएपछि क्वालिफायर टु खेल्न लागेको हो । सुदूरपश्चिमसँग हारेपनि जनकपुरका लागि फाइनल पुग्ने अर्को मौका छ ।

लिगको अन्तिम खेलमा पराजित भएपनि कर्णालीले एलिमिनेटरमा उत्कृष्ट प्रदर्शनका साथ चितवनलाई पराजित गरेकाले लयमा छ । कर्णालीका विलियम बोसिस्टो, चाडविक वाल्टनले राम्रो ब्याटिङ गरेका छन् ।

यस्तै जिसन मक्सुदले अलराउण्ड प्रदर्शन गरिरहेका छन् । भर्खरै अनुबन्ध भएर प्लेअफमा खेलेका जयकसिन कोल्सावालाले पहिलो खेलमै अर्धशतक बनाएर आफ्नो उपस्थिति प्रमाणित गरिसकेका छन् । बलिङमा युवा स्पीनर विपिन प्रसाद शर्मासहित कप्तान सोमपाल कामी र नन्दन यादव छन् । कर्णालीमा धेरै अलराउण्डर हुँदा बलिङमा विकल्प छ ।

तर, ब्याटिङमा आशा गरे अनुसारनेपाली खेलाडीले अझै प्रदर्शन देखाउन सकेका छैन । देव खनालले एक अर्धशतक बनाउनुबाहेक ब्याट चलेको छैन । गुल्शन झाले पनि अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन् । यस्तै, पछिल्लो दुई खेलमा अवसर पाएका ओपनर रित गौतम दुवै खेलमा शुन्यमा आउट भए ।

उता नियमित कप्तान अनिल साह हातको चोटले गर्दा खेल्न नसक्नेपछि सुदूरपश्चिम विरुद्धको क्वालिफायर वान गुमाएका थिए । उनले कर्णाली विरुद्ध पनि खेल्ने छैनन् ।

अनिलको अनुपस्थितीमा आकाश त्रिपाठीले पहिलो रोजाईँमा खेलेका थिए । ब्याटिङमा जिम्मी नीशममा धेरै भर पर्दा जनकपुरका अन्य खेलाडीले राम्रो साथ दिन सकेका छैनन् । सुरुवाती खेलमा जनकपुरको टप अर्डरले उत्कृष्ट प्रदर्शन गरेपनि मिडल अर्डर चल्न सकेको छैन । जनकपुरको बलिङले भने राम्रो प्रदर्शन गरिरहेको छ ।

ललित राजवंशी, किशोर महतोले उत्कृष्ट बलिङ गरिरअका छन् । त्यसमा विदेशी खेलाडीहरु नीशम, हर्श थाकर र मोहम्मद मोहसिनसहित शेर मल्लले राम्रो साथ दिएका छन् ।

लिग चरणमा जनकपुरले कर्णालीलाई ८ विकेटले पराजित गरेको थियो ।