गगन थापाको दाबी- अहिले सरकार फेरबदल हुँदैन
काठमाडौं, ५ पुस । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार फेरबदल नहुने दाबी गरेका हुन् ।
‘मन्त्रिमण्डलको फेरबदलको कुरा चलिरहेको छ, गृहमन्त्रीमा अब गगन थापा जाँदैछन् भन्ने पनि छ नि ?’ भन्ने सञ्चारकर्मीले राखिएको जिज्ञासाको जवाफ दिँदै महामन्त्री थापाले भने, ‘सरकारको कुनै फेरबदल अहिले हुँदैन ।’
साथै, उनले वर्तमान सरकार राम्रोसँग चलेको भएपनि जनताले लिएको आशा अनुसार डेलिभरी भने हुन नसकेको उनको भनाइ छ ।
‘सरकार राम्रोसँग चलिरहेको छ । सरकारका कमीकमजोरीका बारेमा प्रधानमन्त्री पक्कैपनि सचेत हुनुहुन्छ । सरकार बनिसकेपछि जुन आशा अनुरुप डेलिभरी हुनुपर्ने हो त्यो भइरहेको छैन,’ थापाले भने ।
सरकारको डेलिभरीबारे प्रधानमन्त्री केपी शर्मा ओली आफैं सचेत हुनुपर्ने उनले बताए ।
‘तर, सरकारले गर्नुपर्ने डेलिभरी जसरी गर्नुपर्ने हो त्यसरी भइरहेको छैन भन्ने विषयमा प्रधानमन्त्री आफैं सचेत रहनुपर्छ । र उहाँ हुनुहुन्छ, जसरी सरकार कुद्नुपर्ने हो त्यसरी भइरहेको छ । सबैभन्दा पहिला त मलाई महसुश भएको छ ।’ थापाले भने ।