देउवाको गृह जिल्लाका नेताले शेखरलाई लगाइदिए १५ किलोको माला

देउवाको गृह जिल्लाका नेताले शेखरलाई लगाइदिए १५ किलोको माला

धनगढी, ५ पुस । सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ । 

नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप १५ किलोको माला लगाइएको हो । नेता कोइरालालाई धनगढी विमानस्थालमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो । 

कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई धनगढी विमानस्थलमा डडेल्धुराका नेता युवराज पाण्डेसहितका डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको हो । १५ औं महाधिवेशनका लागि शुभकामना दिदै नेताकार्यकर्ताले कोइरालाको पक्षमा नारा समेत लगाएका थिए । 

स्वागतका लागि धनगढी विमानस्थालमा भेला भएका पार्टी कार्यकर्ताले ‘भावी सभापति डा.कोइराला जिन्दाबाद’, ‘सुदूरपश्चिमले के भन्छ १५ औं महाधिवेशनमा शेखर कोइराला ले भन्छ’ जस्ता कोइरालाको पक्षमा नारा लगाएका थिए ।

साथै, स्वागतका लागि थारु सांस्कृति झल्कने पहिरनसहित नृत्य गरिएको थियो । स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रर्दशन गरिएको थियो ।  

नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाको गृह प्रदेशमा कोइरालालाई गरिएको भव्य स्वागतले पार्टीभित्र नयाँ तरंग पैदा गराएको छ ।

सुदूरपश्चिम कांग्रेसी नेता तथा कार्यकर्ताहरु पार्टीभित्र नयाँ नेतृत्व आवश्यकता रहेकाले डा.कोइरालाको भ्रमण सान्दर्भिक भएको कांग्रेस बझाङ जिल्ला कार्यसमिति सदस्य महेश बहादुर मल्लले बताए ।