बहुप्रतीक्षित एनपीएल फाइनल: यी हुन् प्रभाव पार्न सक्ने खेलाडीहरू
काठमाडौं, ६ पुस । आज (शनिबार) नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि भिडन्त हुँदैछ । उपाधि दाबेदार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुन गइरहेको बहुप्रतिक्षित फाइनल सकिएसँगै एनपीएलको पहिलो विजेता को हुने टुंगो लाग्ने छ ।
यसअघि पनि यी दुई टोली दुईपटक आमनेसामुने भइसकेका छन् । सो भेटमा सुदूरपश्चिमले सजिलै जित हाँसिल गरेको छ । सुदूरको ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अहिलेसम्म बलियो देखिँदा जनकपुरलाई ब्याटिङमा केही चिन्ता थपिएको हुनसक्छ । टप अर्डरबाट पछिल्ला खेलमा उसले रन बनाउन सकेको छैन
शनिबारको फाइनलमा दुवै टोलीले आफ्नो बेस्ट खेल प्रदर्शन गर्ने कप्तानहरूको भनाइ छ । यसैबीच दुवै टोलीका लागि फाइनल खेललाइ प्रभावित गर्न सक्ने खेलाडी को को हुनसक्छन् ?
सुदूरका लागि चार महत्वपूर्ण खेलाडीहरूमा कप्तान दिपेन्द्रसिंह ऐरी, स्कट कुग्लेइन, विनोद भण्डारी र इशान पाण्डे प्रभाव पार्न सक्ने छन् ।
दिपेन्द्रले अहिलेसम्म टिमका लागि सबैभन्दा धेरै २१८ रन जोडेका छन् भने ८ विकेट पनि लिएका छन् । दिपेन्द्रको अलराउण्ड प्रदर्शनले सुदूरपश्चिमलाई फाइनलमा ठुलो मद्दत पुग्नेछ । उनको कप्तानी प्रदर्शन उपाधि भिडन्तमा पनि आउन सक्नेछ ।
त्यसैगरी, ८ खेलमा १६ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् स्कट कुग्लेइन। । उनको ओभरले खेलको मोमेन्टम नै बदल्ने सक्षम छन्।
एक अर्धशतकसहित विनोद भण्डारीले १९४ रन बनाएका छन् । ओपनिङमा उनको भूमिका महत्वपूर्ण हुनेछ । इशान पाण्डे अर्का महत्वपूर्ण खेलाडी हुन् । उनी मिडल अर्डरमा बीचका खेलहरूमा खेल चलाउन क्षमता राख्छन् । बाँयाहाते ब्याटर भएकाले दाँयाहाते जोडीसँग मिलेर स्ट्राइक रोटेट गर्दै बलरमा दबाब सिर्जना गराउन सक्छन् ।
यसैगरी, सेफ अली जैबले हालसम्म २०६ रन बनाउँदा ११ विकेट पनि लिएका छन् । विनोदसँग मिलेर राम्रो ओपनिङ गर्दा बलिङबाट पनि योगदान दिइरहेका छन् ।
यता, जनकपुरका लागि जिमी निशम, ललित राजवंशी, लाहिरु मिलान्था र किशोर महतो महत्वपूर्ण खेलाडीहरूमा हुनेछन् ।
हालसम्म जनकपुरका पछिल्ला जितहरूमा जिमी नीशम नायक साबित भइरहेका छन् । उनी सबैभन्दा फर्ममा रहेका खेलाडी छन् । उनले अहिलेसम्म ८ खेलमा २४३ रन बनाउनुका अतिरिक्त ६ विकेट समेत लिएका छन् ।
यसैगरी, ९ खेलमा १६ विकेट लिएका ललितले सर्वाधिक विकेट लिने खेलाडीकी सूचीमा उनी सुदूरका स्कटसँगै शीर्ष सूचीमा छन् । उनले किफायती बलिङ पनि गरेका छन् ।
पछिल्लो समयमा लाहिरु मिलान्था चलेका देखिदैनन् । उनले ९ खेलमा २०६ रन बनाएका छन् जसमा एउटा ७५ को स्कोर पनि रहेको छ । फाइनलमा उनको ब्याट चलेमा जनकपुरलाई ठूलो प्लस पोइन्ट हुनेछ । उपाधि जित्नका लागि जनकपुरलाइ टप अर्डरमा उनको ब्याट पनि चल्नुपर्ने हुन्छ ।
९ खेलमा ११ विकेट लिएका जनकपुरका मुख्य पेस बलर किशोरले पावरप्लेमा र डेथ ओभरमा गरेको बलिङले विपक्षी टिमलाई दबाब सिर्जना गर्न सक्छन् ।
यस्तै, जनकपुरका लागि हर्श थाकर पनि प्रभाव पार्न सक्ने खेलाडीका रूपमा हुनेछन् । उनले ९ खेलमा १०८ रन बनाउँदा ११ विकेट लिएका छन् ।