एनपिएलको उपाधि जितका लागि सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
काठमाडौं, ६ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिमले जनकपुरसामु उपाधि जित्न १ सय ८५ रनको लक्ष्य पेश गरेको छ । सैफ अली जैबले ६९ रन जोडेपछि सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको हो ।
ओपनर जैबले ४३ बल खेल्दै ८ चौका र २ छक्का सहयोगमा सर्वाधिक ६९ रन जोडेका हुन् । अर्का ओपनर विनोद भण्डारीले ३१ बल खेल्दै १ चौका र ३ छक्का मदतमा ४१ रन बनाए
जैब र विनोदले पहिदलो विकेटका लागि १२ ओभरमा ११७ रनको साझेदारी गरे ।ओपनरले राम्रो सुरुवात दिलाएपनि मिडल अर्डर र लोअर अर्डरले राम्रो योगदान दिन चुके।
बलिङमा जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले ३–३ विकेट लिए । सुदूरपश्चिमले अन्तिम दुई ओभरमा ५ विकेट गुमाउनु परेको थियो ।
जनकपुरका ललित राजवंशीले किफायती बलिङ गर्दै ४ ओभरमा १ मेडन राख्दै १५ रन मात्र खर्चेर १ विकेट लिए ।
जारी एनपीएलमा ललितले सर्वाधिक ५ मेडनको रेकर्ड राखेका छन् । उनी १७ विकेटका साथ सर्वाधिक विकेट लिनेमा खेलाडीमा अगाडि छन् ।
बलिङ गर्न बाँकी सुदूपश्चिमका स्कट कुगेलेइनले १६ विकेट लिएका छन् ।