तत्कालीन सेञ्चुरी बैंक घोटाला प्रकरण, अध्यक्ष श्रेष्ठसहित आठ जना अभियुक्तहरु पक्राउ

तत्कालीन सेञ्चुरी बैंक घोटाला प्रकरण,  अध्यक्ष श्रेष्ठसहित आठ जना अभियुक्तहरु पक्राउ

काठमाडौं, जेठ २८

तत्कालीन सेञ्चुरी बैंक घोटाला प्रकरणमा तत्कालीन अध्यक्ष राजेश कुमार श्रेष्ठसहित आठ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीको मुद्दामा अनुसन्धानका लागि सेञ्चुरीका तत्कालिन अध्यक्ष श्रेष्ठ सहित सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको जनाएको छ ।   

यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा २०८० फागुन १५ गते तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका ११ जना कर्मचारीहरु पक्राउ परेका थिए ।

देउराली सहकारी र रवीन्द्र चौलागाईंका विभिन्न कम्पनीलाई कमसल धितोकै आधारमा बैंकबाट कर्जा प्रवाह गरी घोटाला गरेको आरोप अध्यक्ष श्रेष्ठ सहितका व्यक्तिहरुमाथि रहेको छ । 

यो समुहले सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको देखिएको छ । उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी पाइएको सीआईबीको दाबी थियो । उनीहरु २०८० चैतमा हाजिर जमानीमा छुटेको सिआईबीको भनाई छ ।