अस्पताल निर्माण अन्तिम चरणमा
गोदावरी (कैलाली), १७ साउन :
जिल्लाको कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा पुगेको छ । कैलारी–५ स्थित बैजपुरमा निर्माणाधीन अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको हो । विसं २०८१ असार मसान्तसम्म निर्माण सक्ने गरी विसं २०७९ असार २९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तोकिएको समयसीमा सकिएपनि केही महिना म्याद थप गरी निर्माण सम्पन्न गरिने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताउनुभयो ।
चार वर्षअघि प्रत्येक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीतिअनुसार यहाँ १५ शय्याको अस्पताल निर्माण थालिएको उहाँले बताउनुभयो । सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत रु १८ करोड ५२ लाख रहेको कलेलले जानकारी दिनुभयो । उहाँले निर्माणाधीन भवन हस्तान्तरण भएर गत आर्थिक वर्षको अन्तिमबाट नियमित सञ्चालन गर्ने लक्ष्य रहे पनि बजेट अभाव हुँदा ढिलाइ भएको बताउनुभयो । भवन निर्माण अन्तिम चरणमा पुगेको भन्दै उहाँले अस्पताल सञ्चालनका लागि पनि बजेट अभाव भएकाले सङ्घीय सरकारले आवश्यक बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
भवनमा अहिले रङगरोगन, फिनिसिङको काम भइरहेको सूचना अधिकारी कलेलले बताउनुभयो । सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत रु १८ करोड ५२ लाखमध्ये हालसम्म आधा रकम मात्र भुक्तानी भएको छ । बजेट अभावमा अस्पताल परिसरमा बन्नुपर्ने अन्य भौतिक संरचना निर्माण हुन नसकेको गाउँपालिका कार्यालयले जनाएको छ । आवश्यक जनशक्ति व्यवस्थापनसँगै बजेटको सुनिश्चितता भएमा चालु आर्थिक वर्षदेखि अस्पताल सञ्चालनमा ल्याउन सकिने सूचना अधिकारी कलेलको भनाइ छ । अस्पताल सञ्चालन भएपछि कैलारी गाउँपालिकाको दक्षिणी क्षेत्रका जनतालाई स्वास्थ्योपचारमा राहत मिल्ने अपेक्षा गरिएको छ । अस्पताल नहुँदा यहाँका नागरिक सामान्य उपचारका लागि धनगढी, नेपालगञ्ज तथा भारतसम्म पुग्ने गरेका छन् । विसं २०७७ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पाँच, १० र १५ शय्यासम्मका अस्पताल स्थानीय तहमा बनाउने योजना सार्वजनिक गरेको थियो ।
राष्ट्रिय समाचार समिति (रासस)