भन्सार नतिरी सामान ल्याउन खोज्ने सशस्त्र प्रहरीहरु कारवाहीमा
काठमाडौं, असोज २०
विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालका ३ जना कर्मचारीलाई कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।
अफिस प्रयोजनको लागि भन्दै निजी गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा मुद्दती सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरिक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार राम बहादुर कुँवरलाई नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय कैलालीले विभागीय कारवाही अगाडि बढाएको हो ।
त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेपछि उनीहरुलाई नं. ३४ गण कैलालीले नियन्त्रणमा लिएको थियो । यसैबीच त्रिनगर नाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरुलाइ अनावश्यक दुख दिएको र पैसा समेत असुलिएको भन्ने गुनासोका आधारमा नं. ३४ गण कैलालीले सूक्ष्म निगरानी गरेको छ ।
यसैगरी सिमानामा आवतजावत गर्ने व्यक्तिहरूलाई दुख हैरानी दिने तर्फ ध्यान दिँदै सशस्त्र प्रहरीका अधिकृतहरुले सादा पोशाकमा खटिएर अनुगमन समेत गरिरहेका छन् ।