खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा


बनियानी (झापा), असोज २१

 झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ । 

बाह्रदशी–७ बिरिङ खोलाको पश्चिम किनारमा गडिएको अवस्थामा मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । 

गत जेठ १५ गते बाह्रदशी–५ फूलाबारीका २२ वर्षीय राजेश हजाम बेपत्ता भएका थिए । उनी सम्पर्कविहीन भएपछि उनका बुबा भीम हजामले इलाका प्रहरी कार्यालय अनारमनीमा जेठ १८ गते निवेदन दिएका थिए । उनको खोजी गर्ने क्रममा कङ्काल भेटिएको हो । प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा बाह्रदशी–७ का ३१ वर्षीय समीर राजवंशी, २१ वर्षीय आशिष थापा, २० वर्षीया मुना मेचे (राजवंशी) र १६ वर्षीय नरेश राजवंशीलाई नियन्त्रणमा लिएको छ । 

बिरिङ खोला किनारमा भेटिएको शव राजेशकै भएको उनका परिवारले सनाखत गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
–––