औषधी बेच्नलाई नामसहितको सेतो एप्रोन अनिवार्य लगाउनुपर्ने

औषधी बेच्नलाई नामसहितको सेतो एप्रोन अनिवार्य लगाउनुपर्ने

काठमाडौं, ५ मंसिर । औषधि पसलमा औषधि बेच्ने व्यक्तिले अब अनिवार्य रूपमा नाम र पदसहितको सेतो एप्रोन  अनिवार्यरुपमा लगाउनुपर्ने भएको छ ।

नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै फर्मासिस्ट र फार्मेसी सहायकलाई नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य गरिएको बताएको छ । 

‘फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले आगामी पुष ४ देखि औषधि डिस्पेन्सिङ गर्दा देहायको नामट्याग सहितको सेतो एप्रोन लगाएर मात्र डिस्पेन्सिङ गर्नुपर्नेछ,’ परिषद्ले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘फर्मासिस्ट र फार्मेसी सहायकले यसको उल्लंघन गरेमा परिषद्को कोड अफ कन्डक्ट पालना नगरेको मानिनेछ ।’

परिषद्का अनुसार, फर्मासिस्टले सेतो एप्रोनको हरियो ब्याकग्राउन्ड र सहायकले निलो ब्याकग्राउन्डमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अंकित भएको एप्रोन प्रयोग गर्नुपर्ने छ ।

औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ ले औषधि चिकित्सकको सल्लाहबमोजिम बिक्रि वितरण गर्दा फर्मासिस्ट, फार्मेसी सहायक वा व्यवसायी आफैँले गर्नु पर्नेछ । फर्मासिस्ट, फार्मेसी सहायक वा व्यवसायी बाहेक अरुले त्यस्तो औषधि बिक्रि वितरण गर्दा पनि उपस्थिति भने अनिवार्य गरिएको छ।

तर, विभिन्न समयको अनुगमनमा फार्मेसी पसलमा फर्मासिस्ट हुँदैनन् । औषधिको बिक्रि वितरणमा फर्मासिस्टको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरेपनि यो व्यवहारमा लागू भने हुन सकेको छैन् । 

यसकासाथै पुष ४ गतेदेखि ड्रेसकोडको पालना भएरनभएको सम्बन्धी अनुगमन परिषद्बाट हुने र पालना नभएको अवस्थामा परिषद्को नियमावली २०५९ को परिच्छेद ३ को ३.२ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने समेत परिषद्ले जनाएको छ ।