रविमाथि अमानवीय व्यवहार भइरहेको भन्दै रास्वपाको मानवअधिकार आयोगमा उजुरी
काठमाडौं, २३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाने क्रममा मानवअधिकार हनन गरिएको दाबी गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।
२ कात्तिकमा प्रहरीले गिरफ्तार गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने कार्य भएको उजुरीमा उल्लेख गरिएको छ । राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगलाई ध्यानाकर्षण गराइएको छ ।
रास्वपाले २० मंसिरको राति चितवनबाट पोखरा स्थानान्तरण गर्दा राज्य संयन्त्रको दुरुपयोग गरिएको जनाएको छ ।
‘एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमान तथा गैरन्यायिक चाल हो । यो राज्य आतंक हो । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन् गरेको छ,’ उजुरीमा उल्लेख गरिएको छ ।
नियोजित रुपमा सञ्चारमाध्यमहरूको प्रयोग राज्य संयन्त्रले गरी लामिछानेलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न गरेको रास्वपाले उजुरीमा उल्लेख छ ।
रास्वपाले लामिछानेविरुद्ध भएका मानवअधिकार हनन् भएको र घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिनको माग गरेको छ ।
राज्यको न्यायिक पद्दति, कानुनी शासन र लोकतान्त्रिक मावनअधिकारको रक्षाका लागि मानवअधिकार आयोगबाट सक्रिय कदमको अपेक्षा रास्वपाले गरेको छ ।