गलाको सिक्री थुतेर भागेका २ जना पक्राउ

गलाको सिक्री थुतेर भागेका २ जना पक्राउ

काठमाडौं, २३ मंसिर । सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । 

धादिङको धुनिवेशी नगरपालिका–२ घर भइ काठमाडौंको नागार्जुन बस्दै आएका ४२ वर्षीय गोरे तामाङ र काठमाडौंको बिजेश्वरी घर भएका ३९ वर्षीय कृष्णप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार, श्रेष्ठले मोटरसाइकल चलाउने र त्यसको पछाडि बसेर तामाङले सिक्री लुटेका हुन् ।

२० मंसिरको दिउँसो १२ बजेतिर नागार्जुनको टौखलमा ७२ वर्षीया मैया बुढाथोकीको सिक्री उनीहरुले लुटेको आरोप छ ।

बुढाथोकीको गलामा लगाएको २ तोलाको सुनको सिक्री उनीहरुले थुतेर भागेका थिए । प्रहरी स्वयम्भूले पक्राउ परेकाहरुविरुद्ध अनुसन्धान थालेको छ ।