पोखरालाई विराटनगरले दियो १४० रनको लक्ष्य
काठमाडौं, २७ मंसिर । राजधानीमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रनको योगफल तयार गरेको हो ।
विराटनगरका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे । ओपनर लोकेश बमले २६ र निकोलस किर्टोनले १९ रन बनाए ।
बसिर अहमदले २० बल खेल्दै १ छक्कासहित अविजित २१ रन जोडे ।
पोखराका लागि बलिङम सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट झारे । रेमोन रेइफरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।