मन्त्रीहरू फेर्ने प्रधानमन्त्री ओलीको तयारी

मन्त्रीहरू फेर्ने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं, २७ मंसिर । देशका दुई ठूला राजनीति शक्ति सम्मेलित संयुक्त सरकारका नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पूनर्गठनको तयारी थालेका उच्च राजनीतिक स्रोतको दाबी छ ।

चीन भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पूनर्गठनको गृहकार्य गरेका थिए ।  यद्यपि, बीआरआईको विषयमा कांग्रेससँग केही असमझदारी देखिएपछि त्यसमा बढि छलफल गर्नुपर्ने भएकोले त्यो काम थाँती राखिएको थियो ।

प्रधानमन्त्री चीन भ्रमण सकेर फर्किएको एक साता बितिसकेको छ  । अब भने उनले अर्को सातासम्म मन्त्रिपरिषद् पूनर्गठन गरिसक्नेगरि उनले तयारी गरेको उच्च स्रोतको दाबी छ । यसबारेमा कांग्रेस सभापति शेरबहादुर देउवासँगपनि छलफल समेत भएको बुझिएको छ ।

चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीले टिआरसीमा पदाधिकारी चयनको लागि देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा समय खर्चिनु परेको थियो । 

उनी गृहजिल्ला झापामा पछिल्ला तीन दिन व्यस्त भए । उनी हिजो फेरि  काठमाडौं फर्किएलगत्तै आफ्नो जन्मस्थान तेह्थुम  पुगेका थिए । अब भने उनले मन्त्रिपरिषद् पूनर्गठनको लागि होमवर्क थालेका छन् ।

सरकारको नेतृत्व गरेको पाँच महिना पुग्न लागेको छ । प्रधानमन्त्री ओलीले शक्तिशाली मन्त्रालय हाँकेका मन्त्रीहरुलाई नै हटाउनेगरि तयारी थालेको चर्चा हुन थालेको छ ।