एमालेको नेतृत्वमा ओलीको विकल्प छैन, महाधिवेशनमा निर्वाचन हुने कुनै सम्भावना छैन: उपाध्यक्ष पौडेल
काठमाडौं, २७ मंसिर । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री समेत रहेका पौडेलले रासससँग कुराकानी गर्दै आगामी महाधिवेशन नीति र नेतृत्व दुवै सवालमा पूर्ण सहमतिका साथ सम्पन्न हुने बताए ।
‘अब हुने नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुनेछ, अन्य पदहरूमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा, अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन ।’ उनले भनेका छन् ।
ओलीले एमालेलाई मात्र नभएर सिङ्गो राष्ट्रलाई सफल नेतृत्व प्रदान गरेको जिकिर उपाध्यक्ष पौडेलको छ ।
‘एमालेलाई मात्र होइन, सिङ्गो राष्ट्रलाई सफल नेतृत्व प्रदान गर्नुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूका विरुद्ध कसैले उम्मेवारी दिन्छ भन्ने मलाई लाग्दैन,’ उनले भने ।
उपाध्यक्ष पौडेलले एमालेभित्र नीति र नेतृत्वको प्रश्नमा कुनै मतभेद नरहेको दाबी समेत गरे । अध्यक्ष ओलीलाई ‘वैधानिक व्यवस्था अनुरूपको निर्वाचित अध्यक्ष मात्र होइन, समस्त पार्टी पङ्क्तिको विश्वास जितेको आस्थाको अध्यक्ष’ का रूपमा उनले चित्रित गरेका छन् ।
‘पछिल्लो दशकमा हाम्रो पार्टीले उपलब्धि र चुनौतीका जे–जस्ता श्रृङ्खला पारगर्दै आजको यो ठाँउसम्म आइपुगेको छ, उहाँको दूरदृष्टियुक्त, सुझबुझपूर्ण र साहसिक नेतृत्व नभएको भए त्यो सम्भव हुने थिएन ।’ उनले भने ।
पार्टीभित्र देखिएका केही असहमतिलाई व्यवस्थापन गरेर एमाले अघि बढिरहेको उनले बताए ।
‘पार्टीभित्र परिस्थिति वा घटना विशेषमा आधारित भएर असहमति वा अन्तरविरोधहरू देखा पर्न सक्दछन् तर, हामीले तीनलाई तत्क्षण त्यही ठाउँमा समाधान गर्दै पार्टीको आन्तरिक एकतालाई अक्षुण्ण राख्छौँ र पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउँछौं,’ उपाध्यक्ष पौडेलले भनेका छन् ।
ओलीको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता एमालेमा नरहेको जिकिर समेत उनले गरे ।
‘उहाँको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता एमालेमा छैन । अनि किन खोज्नु पर्यो नेतृत्वको विकल्प ?,’ उनले भने ।
‘नेतृत्व भनेको रहरको विषय पनि होइन । यो त इतिहास, योगदान, क्षमता र राष्ट्र तथा अन्तर्राष्ट्रियस्तरमा स्वीकार्यताको विषय पनि हो, म स्पष्ट भाषामा भन्न चाहन्छु, एघारौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतिका साथ उहाँ नै अध्यक्षमा निर्वाचित हुनुहुन्छ । यस विषयमा कोही पनि द्विविधामा रहन आवश्यक छैन ।’ उनले भनेका छन् ।