एनपीएलको आफ्नो अन्तिम खेलमा पनि लुम्बिनी पराजित, कर्णाली ५ रनले विजयी
काठमाडौं, २८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले जित हाँसिल गरेको छ । लुम्बिनी लायन्सलाई पाँच रनले पराजित गर्दै कर्णालीले जित हात पारेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो । कर्णालीका लागि विलियम वसिस्टोले सर्वाधिक ४४ रन बनाएका थिए । अर्जुन घर्तीले २५ तथा बाबर हयातले २० र चाडविक वाल्टनले १३ रनको पारी खेलेका थिए ।
बलिङतर्फ लुम्बिनीका विकास आग्रीले तीन विकेट लिएका थिए । तिलक भण्डारीले दुई तथा रोहित पौडेल, साद बिन जाफर र रामोन सिमोन्ड्सले समान एक विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १२३ रन मात्रमा सीमित भयो । लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन बनाएका थिए । सन्दीप जोराले २४, आशुतोष घिरैया र साद बिन जाफरले १६/१६ तथा अर्जुन साउद र कप्तान रोहित पौडेलले क्रमशः १३ र १० रन बनाए ।
बलिङतर्फ कर्णालीका जीशान मक्सूदले दुई विकेट लिए । सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र विलियम वसिस्टोले एक/एक विकेट लिए ।
लुम्बिनीको यो जारी प्रतियोगिताको अन्तिम खेल हो । लुम्बिनीले कूल सात खेलमध्ये एकमा जित र ६ मा हार व्यहोरेको छ । कर्णालीले भने ६ खेलमा चार खेलमा विजय भएको छ भने दुई पराजय व्यहोरेको छ ।