विश्व बैंकद्वारा नेपाललाई दिने साढे १३ अर्ब ऋण स्वीकृत

विश्व बैंकद्वारा नेपाललाई दिने साढे १३ अर्ब ऋण स्वीकृत

काठमाडौं, २८ मंसिर ।  नेपाललाई दिने भनिएको १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबर) को ऋण विश्व बैंकले स्वीकृत गरेको छ ।

विश्व बैंक कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालाई दिने उक्त रकम बराबरको ऋण स्वीकृत गर्ने निर्णय गरेको हो । 

विश्व बैंकका अनुसार, नेपालमा कार्यान्वयन भइरहेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) हासिल गर्ने प्रयासलाई सहयोग गर्न विकास नीति सञ्चालन (डीपीओ) अन्तर्गत यो ऋण प्रदान गरिएको छ ।

डीपीओको दोस्रो शृंखलाअन्तर्गत सहयोग भएको विश्व बैंकले जनाएको छ ।  

नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले भने, ‘कार्यक्रममा आधारित यो डीपीओ शृंखला नेपाललाई अझै बढी उत्थानशील बनाउन तथा दिगोपन हासिल गर्न उत्प्रेरकको काम गर्ने छ, यसले नेपालीका लागि दीर्घकालीन विकासको आधार सृजना र संरक्षण गर्ने छ ।,’

यो ऋणले नेपालका वित्तीय उपकरण, जलसुरक्षा, सिँचाइ, भू–उपयोग तथा व्यवस्थापन, दिगो वन व्यवस्थापन, जलवायु एवम् विपद् सूचना प्रणालीलगायतमा उपयोग हुने  सिस्लेनले बताए ।