रवि लामिछानेमाथि अझै केही दिन म्याद थपको अनुमति माग्ने तयारी
पोखरा, २ पुस । रास्वपाका सभापति रवि लामिछाने विरुद्धको अनुसन्धानमा प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि अझै केही दिन म्याद थप्ने तयारी गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्की स्रोतका अनुसार, प्रहरीको प्रतिवेदन अध्ययन गरेर अभियोजन तयार गरिरहेकाले अझै केही दिन म्याद थप्न अनुमति मागिने छ ।
पछिल्लो पटक थपिएको ५ दिनको म्याद सकिनु अगाडि नै प्रहरीले सोमबार लामिछानेसहित गोर्खा मिडिया प्रालिका पूर्वउपाध्यक्ष तथा पूर्वडिआइजी छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राइसँग मिलेर सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेकी लिला पछाईविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
प्रकरणमा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएका रविलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा कारबाही गर्न प्रहरीले सिफारिस गरेको छ ।