निर्मला पन्त हत्या प्रकरण: सीआईबीले थाल्यो अनुसन्धान अधिकृतसँग छलफल

निर्मला पन्त हत्या प्रकरण: सीआईबीले थाल्यो अनुसन्धान अधिकृतसँग छलफल

काठमाडौं, ३ पुस । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी- १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूसँग छलफल थालिएको छ ।

उक्त प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छलफल सुरु गरेको हो । अनुसन्धानमा खटिएका अधिकृतहरूसँग छलफल गरेर एउटा निष्कर्ष निकालेर नयाँ कोणबाट फेरि अनुसन्धान अघि बढाउन लागिएको सीआईबी स्रोतले बतायो ।

‘यो अनुसन्धान निरन्तर जारी नै छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूसँग छलफल गरेर एउटा निष्कर्ष निकालेर नयाँ कोणबाट अनुसन्धान गर्न लागेका छौं,हिजो मंगलबार मात्रै केही प्रहरी अधिकारीलाई सीआईबीको लाजिम्पाटस्थित कार्यालयमा बोलाएर छलफल गरिएको थियो ।’ सीआईबी स्रोतले भन्छ । 

सीआईबी स्रोतका अनुसार, छलफल सकेर एउटा निचोड निकालेपछि अनुसन्धानका लागि नयाँ टोली पठाइने छ । गत साउन १० गते मात्रै पन्तको बलात्कार–हत्या भएको ६ वर्ष पूरा भएको छ । तर हालसम्म अभियुक्त पत्ता लगाउन प्रहरीले सकेको छैन ।

कञ्चनपुरकै नेता रमेश लेखक अहिले गृहमन्त्री छन् । यसअघि उनले समेत पन्तको बलात्कार र हत्यारालाई सरकारले पत्ता लगाउन नसकेको भन्दै आलोचना गरेका थिए । तर, अहिले अनुसन्धान गर्ने निकायको जिम्मेवारी उनै लेखकको काँधमा छ । तर, अहिलेसम्म हत्यारा पहिचान भने भइसकेको छैन । 

६ वर्षको अवधिमा ५ जना गृहमन्त्री र प्रहरी प्रमुख बदलिए, ६ वटा समिति गठन भए, यद्यपी अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

साथीको घरमा पढ्न जान्छु भन्दै गएकी पन्त भोलिपल्ट भीमत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग राखेर चर्किंएको आन्दोलनका दौरान भीमदत्त–१८ का १५ वर्षीय सनी खुनाको मृत्युनै भएको थियो । यसबीचमा १२४ जनाको डीएनए जाँच, ६५५ जनासँग सोधपुछ समेत गरिएपनि अनुसन्धान नतिजान भने शुन्य छ ।