रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ: डा.निकोलस भुसाल
काठमाडौं, ४ पुस । रास्वपा सभापति रवि लामिछानेका समर्थक डा.निकोलस भुसालले सामाजिक सन्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका छन् । यसमा कुनै खराब नियत नरहेको भन्दै उनले गल्ती महसुस गरेर माफी समेत मागेका छन् ।
डा.भुसालले दुई दिन अघि नै यो फोटो फेसबुकमा राखेर पछि डिलिट गरेका थिए । बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको छ ।
प्रहरीले हिरासतभित्रको फोटो सार्वजनिक गरिदिएको भन्दै रविका समर्थकहरुले आलोचना गरिरहेका छन् । तर, भुसालले त्यो फोटो प्रहरीले सार्वजनिक नगरेको बताएका छन् । ‘यो पुलिसले ल्याएको होइन, म दोषी छु यसमा । मैले यो फोटो बाहिर ल्याएको हुँ,’ ‘यसवाफत नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु ।’ भुसालले एक भिडियोमा भनेका छन् ।
भुसालले आफू रविको स्वास्थ्य जाँचका लागि हिरासतमा गएको र त्यही बेला प्रहरीकै सामुन्ने फोटो खिचेको बताएका छन् । रविको स्वास्थ्य ठिक छ भन्ने देखाउनका लागि पनि फोटो खिचेको उनले बताए ।
‘भाइरल गराउँछु भन्ने सोचेर, फाइदा हुन्छ भन्ने सोचेर या कसैलाई दोष लगाउनका लागि, कसैलाई नराम्रो भन्नका लागि’ फोटो नखिचेको उनको प्रष्टीकरण छ ।
गृहमन्त्री भइसकेको व्यक्ति अहिले यो अवस्थामा पुगेको भनेर वास्तविकता बाहिर ल्याउन मात्र खोजेको उनले दाबी गरे । हिरासतमा कस्तो अवस्थामा बसिराख्नु भएको छ त भनेर बुझाउनका लागि त्यो फोटो खिचेको थिएँ ।
कास्की प्रहरीले भने रविको भनिएको भाइरल फोटोको वास्तविकता पत्ता लगाउन अनुसन्धान गरिरहेको बताएको छ ।