रवि लामिछानेको भन्दै फोटो सार्वजनिक गर्नेलाई खोज्दै प्रहरी
काठमाडौं, ४ पुस । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतभित्र सुतिरहेका व्यक्ति रास्वपा सभापति रवि लामिछानेको भनेर एउटा फोटो सामाजिक सन्जालमा भाइरल यतिबेला भइरहेको छ ।
एउटा फोटोमा टोपी लगाएका व्यक्ति सिरक ओढेर सुतिरहेको र छेउँको टेबुलमा किताबहरु देखिन्छ । अर्को एउटा फोटोमा भने छेउँको टेबुल नै देखिँदैन ।
रास्वपाका कार्यकर्ताहले यो फोटो कास्की हिरासत भित्रको र रविकै हो भन्ने दाबी गर्दै सामाजिक सन्जालमा सेयर गरिरहेका छन् । कतिपयले भने यो ‘फेक’ हो भनेर कमेन्ट समेत गरेका छन् ।
त्यो फोटोको वास्तविकताबारे अनुसन्धान जारी रहेको जिल्ला प्रशासन कार्यालय कास्कीका अर्का एक अधिकारीले बताएका छन् ।
उनका अनुसार, त्यो फोटो रवि लामिछानेकै हो कि होइन भन्ने पुष्टि हुन बाँकी छ र त्यसको अनुसन्धान सुरु गरिएको छ ।
तर, रास्वपाका एक कार्यकर्ता डा.निकोलस भुसालले यो फोटो आफूले खिचेको र वास्तविक भएको दाबी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यो फोटो रियल हो मैले नै खिचेको हो ।’ यसबारे वास्तविकता सार्वजनिक गर्ने पनि बताएका छन् ।
रविका सहयोगी एवम् रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो रविकै भएको बताएका छन् । उनले ‘सामाजिक सन्जालमा कतै पाएर’ त्यो फोटो आफूले फेसबुकमा पोष्ट गरेको बताएका छन् ।
सीसीटीभीको फुटेजबाट प्रहरीले नै स्क्रिनसट गरेर फोटो निकालेको उनले आरोप लगाए । ‘रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ?’ उनले प्रश्नसमेत गरेका छन् ।