गृहमन्त्री लेखकको निर्देशन- रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई कारवाही गर्नू
काठमाण्डौं, ४ पुस । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक भयो भनिएको विषयमा यथार्थ छानविन गरी दोषीलाई तत्काल कारवाहीमा ल्याउन निर्देशन दिएका छन् ।
बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख बसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानविन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जाल हिरासत कक्षभित्रको तस्बीर भन्दै सार्वजनिक गरेपछि गृह मन्त्रालयले त्यसको यथार्थ छानविन गर्न प्रहरीलाई निर्देश दिइएको बताएको छ ।
मन्त्री लेखकले उक्त तस्बीरको विषयमा छानविन गरी दोषीलाई तत्काल कारवाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको जानकारी दिए ।
‘यो विषयमा छानविन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु । हिरासतमा रहेको दाबी गरिएको तस्बीरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ ।’ गृहमन्त्री लेखकले भने ।
तस्बीर सार्वजनिक गरिएको भनिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।