त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान गर्न पुनः बोलपत्र आह्वान
काठमाडौं, ५ पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बनाउनका लागि पुनः बोलपत्र आह्वान गरिएको छ ।
अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि आज सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयले बोलपत्र आह्वान गरेको हो ।
प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ लागत छ । बोलपत्र पेश गर्न २०–१० हजार रुपैयाँ लाग्ने छ ।
बोलपत्र पेश गर्ने म्याद आगामी माघ ६ गते दिउँसो १२ः३० बजेसम्म तोकिएको छ । सोही दिन दिउँसो साढे १ बजे बोलपत्र खोलिने सूचनामा भनिएको छ ।
यसअघि फ्लड लाइट जडानका लागि आह्वान गरिएका बोलपत्र दुई पटक रद्द गरिएका थिए ।
आर्थिक वर्ष २०७९/८० को बजेटमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले कीर्तिपुर मैदानको स्तरोन्नति र फ्लडलाइट जडानको प्रक्रिया अघि बढाउन २० करोड रुपैयाँ बजेट छुट्याएका थिए ।
मैदान स्तरोन्नतिका लागि १० करोड र फ्लडलाइट जडानका लागि १० करोड विनियोजित भएकोमा फ्लडलाइटको १० करोड खर्च नभएर फिर्ता गरिएको थियो ।
चालु आर्थिक वर्षको बजेटमा त्रिवि मैदानमा फ्लडलाइट जडानका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।