निर्यात बढाउन तीनै तहका कानुन र नीति सहज हुनुपर्छ : मन्त्री पाण्डे

निर्यात बढाउन तीनै तहका कानुन र नीति सहज हुनुपर्छ : मन्त्री पाण्डे

चितवन, ५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्थानीय उत्पादनको निर्यात बढाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारको कानुन तथा नीति सजिलो हुन जरुरी रहेको बताएका छन् ।

पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको तेस्रो खैरहनी महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपालमा उत्पादित वस्तुको निर्यात बढाउन सके अर्थतन्त्र बलियो हुने बताए ।

उनले भने, “अर्थतन्त्र बलियो बनाउन निर्यात बढाउन जरुरी छ । यसका लागि तीनै तहका सरकारको नीति तथा कानुन सहज बनाउनुपर्छ ।”

चितवन पर्यटकीय दृष्टिले महत्वपूर्ण जिल्लाको रुपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले यसलाई चलायमान बनाउन सके अर्थतन्त्रमासमेत सहज हुने बताए। पर्यटकीय क्षेत्रको विकासका लागि नीतिगत रुपमा सहयोग गर्न र पूर्वाधारको विकास गर्न मन्त्रालय तयार रहेको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा मन्त्री पाण्डेले पछिल्लो समय देखिएको भ्रमको राजनीति चिर्दै अघि बढ्न जरुरी रहेको बताए।  

उद्योग वाणिज्य सङ्घ खैरहनीको आयोजनामा सुरु भएको सो महोत्सव यही पुस १६ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा दुई सय २५ कक्ष रहेका महोत्सव मूल समारोह समितिका संयोजक कुमार खनालले जानकारी दिए।