स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १५८ वटा परियोजना प्रस्ताव
काठमाडौं, ६ पुस । सरकारले ल्याएको सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १५८ वटा परियोजना प्रस्तावना पेस भएका छन् ।
२०८१ साल भदौ ११ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यमहरूलाई कर्जा प्रवाह गर्न प्रस्ताव आह्वान गरेको थियो ।
जसअनुसार, अनलाइन र अफलाइनबाट गरेर ५ हजार १५८ वटा प्रस्ताव स्टार्टअप उद्यम कर्जामा सहभागिताका लागि आवेदन परेका प्रतिष्ठानले जानकारी दिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार राष्ट्रिय वाणिज्य बैंकले परियोजनाको प्रकृतिको आधारमा अधिकतम २५ लाख रूपैयाँसम्म बिना धितो ३ प्रतिशत ब्याजमा ५ वर्षका लागि स्टार्टअप उद्यम कर्जा प्रदान गर्नेछ । बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना नै धितोको रुपमा राख्नेछ ।
सरकारले नयाँ ज्ञान, सोच सीप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न चालु आर्थिक वर्षमा लागि एक अर्ब बजेट छुट्याएको छ । यस कार्यक्रमबाट ३ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने गरी स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ स्वीकृत गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैकसँग रकम परिचालन गर्न सम्झौता भइसकेको छ । अब प्राप्त योजनामध्ये स्वीकृत भएका प्रस्तावकर्ताले ३ प्रतिशत व्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।
प्रतिष्ठानका अनुसार, मापदण्ड पूरा गरेका परियोजनाहरूलाई प्रतिष्ठानले प्रारम्भिक सूची तयार गरी निश्चित मिति र समय तोकी व्यावसायिक योजना प्रस्तुतीकरणको लागि बोलाउनेछ । प्रस्तुतीकरण पछि पचास वा सोभन्दा बढी अंक प्राप्त गर्ने प्रस्तावलाई प्राप्तांकको आधारमा प्राथमिकीकरण गरी कर्जा प्रवाह हुनेछ ।
विज्ञान, प्रविधि, सूचना तथा सञ्चारसँग सम्बन्धित, अटो मोबाइल सम्बन्धित, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाहको प्रक्रिया सुधारसँग सम्बन्धित, घरायसी वा दैनिक जीवनयापनसँग सम्बन्धित क्षेत्रलाई स्टार्टअप कर्जा प्रदान गरिनेछ ।