५ महिनामा १३ अर्ब चार करोडको बिजुली भारत निर्यात

५ महिनामा १३ अर्ब चार करोडको बिजुली भारत निर्यात

काठमाडौं, ७ पुस । पाँच महिनामा १ अर्ब ७६ करोड युनिट विद्युत् भारत निर्यात भएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको हो ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारत निर्यात गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको हो ।

साउन, भदौ, असोज, कात्तिक र मंसिरमा देशभित्र खपतगरी अतिरिक्त भएको वर्षायामको विद्युत भातरतर्फ निर्यात गरिएको हो । भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ । नेपाल–भारतबीचको सम्झौता अनुसार विद्युत निर्यात गरिएको हो ।

बाढी पहिरो र सुख्खायामका कारण तुलनात्मक रुपमा विद्युत निर्यात घटेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको छ । त्यसपछिका महिनामा निर्यात घटेको तथ्यांक छ । प्राधिकरणले चालू आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यातको लक्ष्य राखेको छ ।

हिउँद सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन कम हुने प्राधिकरणले जनाएको छ ।