५ महिनाको अवधिमा साढे ७ खर्बको वैदेशिक व्यापार

५ महिनाको अवधिमा साढे ७ खर्बको वैदेशिक व्यापार

काठमाडौं, ७ पुस । चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन-मंसिर) मा साढे ७ खर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । मंसिर मसान्तसम्म ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको  भन्सार विभागले जनाएको छ ।  

यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को यसै अवधिको तुलनात्मक रुपमा ४.२१ प्रतिशतले बढी हो । आयात र निर्यात दुवैमा सुधार हुँदा यस वर्ष कुल वैदेशिक व्यापारको आकार समेत बढेको देखिन्छ। गत आर्थिक ५ महिनामा ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँको व्यापार भएको तथ्यांकमा उल्लेख छ । 

भन्सार विभागका अनुसार पहिलो ५ महिनाको अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ३ प्रतिशत धेरै हो । अघिल्लो आवको मंसिरसम्म ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस वर्ष निर्यातमा भने उल्लेख्य सुधार भएको पाइएको छ ।

भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ७३ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु नेपालबाट विदेश निर्यात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १६.५४ प्रतिशत धेरै हो । यस वर्ष भारतले वनस्पति तेलको आयात सहज बनाएसँगै नेपालबाट हुने निर्यात बढेको हो ।

अघिल्लो आवको यसै अवधिमा निर्यात ६३ अर्ब २० करोड रुपैयाँ मात्र रहेको थियो । मंसिरसम्म नेपालको व्यापार घाटा भने ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ बराबर रहेको देखिन्छ । व्यापार घाटा अघिल्लो आवको तुलनामा १.५२ प्रतिशतले मात्र विस्तार भएको छ ।

आयातको तुलनामा निर्यातको वृद्धिदर धेरै हुँदा व्यापार घाटा धेरै नबढेको हो । अघिल्लो आवको मंसिरसम्म ५ खर्ब ७९ अर्ब रुपैयाँ हाराहारी व्यापार घाटा रहेको थियो । नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा ८९.९८ प्रतिशत रहेको छ । निर्यातको हिस्सा १०.०२ प्रतिशत रहेको छ । निर्यातको हिस्सा  केही बढेको देखिन्छ ।