सर्वसाधारणका लागि गार्डियन माइक्रो लाइफले पुस २१ गतेदेखि आइपीओ निष्कासन गर्ने
काठमाडौं, १० पुस । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले पुस २१ गतेदेखि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति प्राप्त गरेको थियो । जसमध्ये कम्पनीले १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर म्युचुअल फण्डहरूलाई छुट्याएको छ।
कम्पनीले १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।
उक्त आइपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिन सकिने र अधिकतममा एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीको आइपिओमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ। सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि माघ ६ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ।