भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, राष्ट्रिय शोकको घोषणा
काठमाडौं, एजेन्सी । सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ ।
सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका सिंहको बिहीबार साँझ नयाँदिल्लीको अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
“दिवङ्गत महानुभावप्रति सम्मान स्वरूप सम्पूर्ण भारतमा सात दिनको राजकीय शोक मनाइने निर्णय गरिएको छ”, भारत सरकारले शुक्रबार एक विज्ञप्तिमा भनेको छ । शोक जनवरी १ सम्म मनाइनेछ ।
“स्वर्गीय डा मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय पनि गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
अस्ट्रेलियासँग चौथो टेस्ट खेलिरहेको भारतीय क्रिकेट टोलीले शुक्रबार सिंहप्रति सम्मान प्रकट गर्न कालो हातको ब्यान्ड लिएर शुक्रबार मैदानमा पुगेको थियो ।
राजकीय अन्त्येष्टिको मिति तत्काल घोषणा नगरिए पनि कांग्रेस पार्टीका एक वरिष्ठ सदस्यले शनिबार हुनसक्ने सङ्केत गरेका छन् ।
