बुधबार १४ फागुन, २०८१

माओवादीले बोलायो पदाधिकारी बैठक, अखिल क्रान्तिकारीको मतदान विवादबारे छलफल हुने

माओवादीले बोलायो पदाधिकारी बैठक, अखिल क्रान्तिकारीको मतदान विवादबारे छलफल हुने

काठमाडौं, १४ पुस। नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक डाँकेको  छ । माओवादीले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उमेरहद सम्बन्धी मतगणनामा भएको विवाद मिलाउन पदाधिकारी बैठक बोलाएको हो ।  

आइतबार दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पदाधिकारीको बैठक बस्नेगरी आह्वान गरिएको छ । नेताहरूका अनुसार उक्त बैठकले अखिल क्रान्तिकारीमा उमेर हद ३२ वर्ष राख्ने कि नराख्ने विषयमा भएको मतगणनामा विवाद भएको छ ।

नेताहरूका अनुसार, कुल दुई हजार ४२८ मध्ये एक हजार ८ सय मत खसेको र त्यसको मतगणना लगभग सकिएको छ । ३२ वर्षे उमेर हद राख्नुपर्ने र राख्न नहुने पक्षमा जम्मा पाँच मतको अन्तर रहेको छ ।

यही बेला मतगणनामा विवाद भएपछि मतगणना नै स्थगित गरिएको छ । यो विषयमा विवाद चर्किन थालेपछि पार्टीको पदाधिकारी बैठक नै बसेर छलफल गर्न लागिएको हो ।

यद्यपी, आगामी केन्द्रीय समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागिएको माओवादीको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायको भनाइ छ ।

माओवादीको केन्द्रीय समितिको बैठक यही पुस २१ गते बस्ने बताइएको छ ।