एमालेबाट निष्कासित रावलले भेटे कर्ण मल्ल र तारा जोशी, नयाँ पार्टी खोल्ने तयारी

काठमाडौं, १५ पुस । एमालेबाट निष्कासित भएका डा.भीम रावलले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । नयाँ पार्टी निर्माण लगायतका विषयमा उनले छलफल गरेका हुन् ।
सोमबार बिहान उनले नेपाली कांग्रेस (बीपी) का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेट गरेका छन् । मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन् ।
टोखास्थित निवासमा उनीहरूबीच छलफल भएको हो । स्रोतका अनुसार, सो भेटका क्रममा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर बलियो शक्ति निर्माण गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध बिग्रिएपछि मल्ल कांग्रेस बीपीतिर लागेका हुन् । उनले देउवाविरुद्ध २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा समेत गरेका थिए ।
जोशी भने नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् । २०७९ को निर्वाचनमा डडेल्धुरा प्रतिनिधिसभाअन्तर्गतको प्रदेश सभा २ बाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।