मंगलबार २७ फागुन, २०८१

पार्टी घोषणाको तयारीमा भीम रावल, बुधबार पत्रकार सम्मेलन गर्ने

पार्टी घोषणाको तयारीमा भीम रावल, बुधबार पत्रकार सम्मेलन गर्ने

काठमाडौं, १५ पुस । नेकपा एमालेको साधारण सदस्यबाट समेत निष्कासनमा परेका नेता डा.भीम रावलले आगामी बुधबार (पुस १७) गते नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन् । 

रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय लिएको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटघाटलाई तीव्रता दिएका थिए ।

आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना गर्ने तयारी रहेको उनी निकट स्रोतले बतायो ।  स्रोतका अनुसार, काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन हुनेछ ।

उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा। तारा जोशीसँग आज(सोमबारं) बिहान भेटवार्ता गरेका थिए ।

उनीहरूबीच टोखास्थित निवासमा भेटवार्ता भएको हो । रावलले उक्त भेटमा  विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर बलियो शक्ति निर्माण गर्नुपर्ने प्रस्ताव राखेका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध बिग्रिएपछि उनी कांग्रेस बीपीतिर लागेका हुन् । उनले देउवाविरुद्ध २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा समेत गरेका थिए ।

जोशी भने नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् । २०७९ को निर्वाचनमा डडेल्धुरा प्रतिनिधिसभाअन्तर्गत प्रदेश सभा २ बाट टिकट नपाएपछि उनी स्वतन्त्र चुनावी प्रतिस्पर्धा उत्रिएर सुदूरपश्चिम प्रदेश सभा सदस्यमा चुनिएका थिए ।