चीनमा भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ५३ पुग्यो, ६२ जना घाइते

चीनमा भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ५३ पुग्यो, ६२ जना घाइते

काठमाडौं, २३ पुस । चीनमा मंगलबार एकाबिहानै गएको भूकम्पमा परी निधन हुनेहरुको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन् ।

भूकम्पबाट ज्यान जानेको संख्या ५३ पुगेको तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जानकारी गराएको छ । 

यसैबीच, राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन जारी गरेका छन् । 

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन पनि निर्देशन दिएका छन् ।

उनले सम्भावित थप क्षति रोक्न, प्रभावित बासिन्दाहरूलाई  उचित रूपमा पुनर्स्थापित गर्न र घटनापछिको कामलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न समेत निर्देशन दिएका बताइएको छ । 

‘भूकम्पको निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन, आपत्कालीन उद्धार सामग्री तत्काल पठाउन, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्य छिटो सम्पन्न गर्न, प्रभावितहरूको आधारभूत आवश्यकता पूरा गर्न र सबैको सुरक्षित तथा न्यानो जाडो सुनिश्चित गर्न आवश्यक छ ।’ सीले भनेका छन् ।

भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ । 

भूकम्पको धक्का नेपालमा समेत महसुस गरिएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको जनाएको छ  । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।

 भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । 

आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड चीनको भूकम्प नेटवर्क केन्द्रले बताएको छ ।