संसद अधिवेशन बोलाउन संयुक्तरुपमा सरकारलाई दबाब दिने प्रतिपक्षी दलको निर्णय
काठमाडौं, २ माघ । प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने भएका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको प्रतिपक्षी दलको बैठकले संयुक्तरुपमा दबाब दिने निर्णय गरेको हो ।
बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार, सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने समेत निर्णय भएको छ ।
आज बिहान बसेको बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्षसमेत निकालेको उनले जानकारी दिए ।
बैठकमा एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, रास्वपाका डीपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका प्रभु साह तथा नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी थिए । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी रहेका थिए ।