गरिमा विकास बैंकको अठारौं वार्षिक साधारणसभा: ५ प्रतिशत लाभांश पारित, अध्यक्षमा खाँड चयन
काठमाडौं, २ माघ । गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा बैंकको साधारण सभा शुक्रबार सफलतापूर्वक सम्पन्न भएको हो ।
उक्त साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरू सर्वसम्मत पारित गरेको छ । विकास बैंकले आ.व.२०८०÷८१ को वार्षिक प्रतिवेदन सहित शेयरधनीहरूलाई वितरण प्रस्ताव गरेको ५ प्रतिशत (कर सहित) को नगद लाभांस सर्वसम्मत पारित गरेको छ ।
त्यसैगरी उक्त साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरूको प्रतिनिधित्व गर्ने र सेयरधनीहरूको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू चयन गरेको छ ।
सभाले सञ्चालकहरूमा दिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोइराला सर्वसम्मतीबाट चयन गरेको छ ।
साधारणसभा पश्चात लगतै बसेको सञ्चालकहरूको बैठकले दिलिप प्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गर्ने निर्णय गरेको छ ।
हाल बैंकको चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ रहेको छ । साधारणसभाले पारित गरेको लाभांश २०८१ पौष १७ गते कायम रहेका विकास बैंकका शेयरधनीहरूले नगद लाभांस प्राप्त गर्नेछन् ।
विकास बैंकले हाल देशभर १२३ शाखा कार्यालयहरू, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको जनाएको छ ।