बिहीबार १४ फागुन, २०८२

सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, ३.८४ प्रतिशत लाभांश प्रस्ताव पारित

सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, ३.८४ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं, २ माघ । सांग्रिला डेभलपमेन्ट बैंकले २०औं वार्षिक साधारण सभाले ३.८४ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार अम्रपाली ब्याङ्क्वेट बालुवाटारमा सम्पन्न साधारणसभाले ३.६५ प्रतिशतको वोनस सेयर र ०.१९ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो । 

बैंकको चुक्ता पुँजी तीन अर्ब त्रिचालीस करोडको बाह्र करोड बाउन्न लाख बराबरको बोनस सेयर र कर प्रयोजनका लागि पैसठ्ठी लाख त्रियानब्बे हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी तीन अर्ब पचपन्न करोड बैसट्ठी लाख पुगेको छ ।

साधारण सभाले आ.व.०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय, ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आइरहेको छ । 

यसका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको यस बैंकले आगामी दिनमा यसलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिवद्धता जनाएको छ ।