जर्मनीमा ईभी गाडीको बिक्री किन घटिरहेको छ ?

काठमाडौं, २१ फागुन । जर्मनीको विद्युतीय गाडी (ईभी) बजार कठिन परिस्थितिबाट गुज्रिरहेको छ ।
जर्मनीको समाचार एजेन्सी डीपीएका लागि यूगव रिसर्च इन्स्टिच्युटले गरेको सर्वेक्षणमा जर्मनीमा बसोबास गर्नेहरुले ईभीप्रति कम रुचि देखाइरहेको पाइएको छ ।
ग्राहकहरु ईभी गाडी किन्न हिच्किचाउनुमा महँगो मूल्य, सीमित चार्जिङ स्टेसन, महँगो विद्युत् महसुल र मोडलमा कम विकल्पलाई ठानिएको छ ।
झण्डै ४७ प्रतिशत जर्मन ग्राहकले विद्युतीय गाडी खरीद गर्न सबैभन्दा ठूलो बाधा यसको महँगो मूल्यलाई ठानेको सर्वेक्षणमा पाइएको छ ।
जलवायु परिवर्तनका असर कम गर्न पेट्रोल, डिजेल जस्ता इन्धनबाट चल्ने गाडीको साटो विद्युतीय गाडी प्रयोग गर्नुपर्ने आवाज विश्वभर उठिरहेका बेला जर्मनीको ईभी गाडीको बजार संकटमा पर्नु चिन्ताको विषय बनेको छ ।
जर्मनीको अर्थव्यवस्था वर्ष २०२५ मा पनि मन्दीको चपेटमा छ । अटो उद्योगमा उत्पन्न भएको संकट यो मन्दीको एक प्रमुख कारण मानिन्छ ।
सर्वेक्षणमा के पाइयो ?
सर्वेक्षण अनुसार–
४२ प्रतिशत मानिसहरू ब्याट्रीबाट चल्ने गाडीहरूको सीमित दूरीका कारण चिन्तित छन् ।
४० प्रतिशतले चार्जिङ स्टेसनको अभावलाई ठूलो समस्या मानेका छन् ।
३० प्रतिशत मानिसहरूका लागि उच्च बिजुली शुल्क पनि प्रमुख चिन्ताको विषय बनेको छ ।
२४ प्रतिशतले भनेका ईभी प्रविधि अझै पूर्णरूपमा विकसित नभएको बताएका छन् ।
सरकारी अनुदान हटेपछि बिक्री घट्यो
सर्वेक्षणको क्रममा जर्मनीमा विद्युतीय गाडीहरूको बिक्री लगातार घटिरहेको पाइएको छ । २०२४ मा ब्याट्रीबाट चल्ने विद्युतीय गाडीहरूको बिक्री २७.४ प्रतिशतले घटेर ३ लाख ८० हजार ६०९ थानमा सीमित रह्यो ।
ईभीको बजार हिस्सा २०२३ मा १८.४ प्रतिशत थियो, जुन २०२४ मा झरेर १३.५ प्रतिशतमा सीमित रह्यो । यसको मुख्य कारण २०२३ को अन्त्यमा सरकारले ईभी अनुदान बन्द गर्नु थियो ।
सरकारी अनुदान हटेपछि ग्राहकहरूको ईभीप्रति रुचि कम भयो, जसको असर सम्पूर्ण अटोमोबाइल उद्योगमा पर्यो । टेस्ला गाडीहरूको युरोपमा दर्ता २०२४ को जनवरीदेखि २०२५ को जनवरीसम्म ४५ प्रतिशतभन्दा बढीले घट्यो । जर्मनी, फ्रान्स, नर्वे र बेलायतमा पनि टेस्लाको बिक्री घटेको देखियो ।
उता, अडी (Audi) ले बेल्जियमको ब्रसेल्समा रहेको आफ्नो कारखाना स्थायी रूपमा बन्द गर्ने घोषणा गर्यो, जसका कारण तीन हजारभन्दा बढी रोजगारी गुमेको बताइन्छ । कम्पनीका अनुसार ईभीको घट्दो माग यसको प्रमुख कारण हो ।
सस्तो ईभी मोडेलको अभाव
विशेषज्ञहरूका अनुसार, जर्मन ग्राहकहरू ईभी खरिद गर्न हिचकिचाइरहेका छन् किनकि बजारमा किफायती मोडेलहरू उपलब्ध छैनन् । सर्वेक्षणमा १२ प्रतिशत मानिसहरू मात्र विद्युतीय गाडीका लागि ३० हजार यूरो (४३ लाख नेपाली रूपैयाँ भन्दा बढी) खर्च गर्न इच्छुक देखिए । तर जर्मनीमा यो बजेटमा जम्मा ६ वटा ईभी मोडेल मात्र उपलब्ध छन् ।
जर्मन कार कम्पनीहरूलाई चिनियाँ कम्पनीहरूको ठूलो चुनौती खेप्नु परिरहेको छ ।
युरोपको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी फक्सवागन (Volkswagen) ले २० हजार यूरो (२९ लाख नेपाली रूपैयाँभन्दा बढी) पर्ने सस्तो ईभी मोडेल ल्याउने घोषणा गरेको छ । तर ग्राहकहरू महँगो ईभी खरीद गर्न इच्छुक देखिएका छैनन्, चाहे ती जर्मन ब्रान्डका नै किन नहुन् ।
जर्मन अटो उद्योगलाई चीनको चुनौती
अटो उद्योग जर्मनीको सबैभन्दा महत्वपूर्ण उद्योगहरूमा गनिन्छ । यसमा सबैभन्दा प्रमुख हिस्सा फोक्सवागनको छ, जुन युरोपको सबैभन्दा ठूलो कार निर्माता कम्पनी हो । यो कम्पनीले आगामी केही वर्षहरूमा जर्मनीमा हजारौं रोजगारी घटाउने योजना बनाइरहेको छ ।
जर्मनीका धेरै अन्य कम्पनीहरूमा पनि कर्मचारीहरूको सामूहिक कटौति हुने अनुमान छ । उद्योगका धेरै आपूर्तिकर्ताहरू यसबाट प्रभावित हुने आशंका छ ।
जर्मन कार कम्पनीहरूलाई चिनियाँ कम्पनीहरूको ठूलो चुनौती खेप्नु परिरहेको छ । टेस्ला, बीवाईडी र अन्य गैरयुरोपेली ब्रान्डहरूले सस्ता विद्युतीय कारहरू बजारमा ल्याइरहेका छन्, जसका कारण जर्मन कम्पनीहरूलाई आफ्नो रणनीति परिवर्तन गर्न दबाब परेको छ ।
ईभीको बिक्री घटे पनि २०२४ मा हाइब्रिड गाडीहरूको बिक्री १२.७ प्रतिशतले वृद्धि भएको थियो । जर्मनीमा हाल हरेक तीनमध्ये एक नयाँ कार हाइब्रिड रहेको छ । यसको अर्थ, ग्राहकहरू पूर्णरूपमा विद्युतीय गाडीहरू रोज्नुभन्दा पहिले हाइब्रिड विकल्पलाई प्राथमिकता दिइरहेका छन् ।
भविष्यका चुनौतीहरू
जर्मनीको विद्युतीय गाडी बजार एउटा महत्वपूर्ण मोडमा छ । सरकारी अनुदान हट्नु, उच्च मूल्य र चार्जिङ पूर्वाधारको अभावका कारण बिक्री प्रभावित भएको छ । यद्यपि सस्ता ईभी मोडेलहरू र नयाँ सरकारी नीतिहरूले केही राहत दिन सक्छन् तर बजारलाई स्थिर बनाउन ठोस कदम चाल्न आवश्यक छ ।
युरोपियन युनियनले २०३५ सम्म पेट्रोल–डिजेल कारहरूमा पूर्णप्रतिबन्ध लगाउने योजना बनाइरहेको छ । तर, हालको अवस्थालाई हेर्दा, अनुदान मात्र दिनु पर्याप्त नहुने विज्ञहरु बताउँछन् ।
विद्युतीय गाडीलाई किफायती बनाउनु र चार्जिङ पूर्वाधार सुधार्नु अझै महत्वपूर्ण छ । यी चुनौतीहरू समाधान गरे मात्र ईभी बजार दीर्घकालीन रूपमा सफल हुन सक्छ र जर्मनीले आफ्नो जलवायु लक्ष्यहरू पूरा गर्न सक्छ ।