काठमाडौँमा सुरु भयो बागमती प्रादेशिक ललितकला प्रदर्शनी

काठमाडौं, २६ फागुन । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा काठमाडौँमा आजदेखि ‘बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी, २०८१’ सुरु भएको छ।
नक्सालस्थित प्रतिष्ठानको प्रदर्शनी हलमा सुरु भएको प्रदर्शनीको प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले उद्घाटन गरे।
सो क्रममा उनले प्रतिष्ठानले प्रदेशगत रूपमा आयोजना गरेको प्रदर्शनीको प्रशंसा गर्दै किसानले माटाको पहिचान गरेर अन्न उत्पादन गरे झैँ कलाकारले पनि आफ्नो माटोलाई चिनेर कला र कलाकारिता गर्नुपर्ने बताए।
उद्घाटन समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘सामाजिक रूपान्तरण ललितकलाको अभियान’को मूल भावमा रही आयोजना गरिएको प्रदर्शनीले प्रदेशको ललितकलाका उत्थानमा थप सहयोग गर्ने विश्वास व्यक्त गरे।
उनले कला र कलाकारको धनी बाग्मती प्रदेशमा ललितकलाको खोज तथा अनुसन्धानका थप काम गर्नुपर्ने धारणा राखे।
प्रतिष्ठानका उपकुलपति तथा बागमती प्रदेश समन्वय समितिका संयोजक लालकाजी लामाले कलाका क्षेत्रमा प्रादेशिक प्रदर्शनीले ललितकला क्षेत्रको पुनर्जागरण गराएको र अझै जरैसम्म पुगेर रैथाने कला र सीपलाई थप उजागर गराउनुपर्नेमा जोड दिए।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानको रणनीतिक योजनामुताबिक प्रादेशिक ललितकला प्रदर्शनी गरिएको र यसले हाम्रा मौलिक कला, शैली, शिल्प, ज्ञानलाई उत्थान तथा प्रवद्र्धन गर्न सहयोग गर्ने बताए।
रैथाने सीप र कलाको पुस्तान्तरण हुनुपर्ने बताउँदै उनले कला र कलाकारको रचनात्मक सिर्जनशील विकासमा जोड दिए। ललितकला क्याम्पस (भोटाहिटी) का प्रमुख डा यामप्रसाद शर्माले यस प्रदर्शनीले उत्साह थपेको र कलाकारले विविध कलालाई विभिन्न रूपमा देखाएको बताए।
समारोहमा नेपाली ललितकला क्षेत्रमा योगदान दिएका कलाकारहरू जुलुमलाल चित्रकार, भोला पौड्याल, शारदामान श्रेष्ठ, सुष्मा राजभण्डारी, सुनिता राणा, धर्मबहादुर तामाङ, सरिता डङ्गोललगायतलाई सम्मान गरिएको थियो।
त्यस्तै कार्यक्रममा प्रतिष्ठानबाट प्रकाशित विज्ञसमीक्षित अनुसन्धानमूलक सोधपत्रिका ‘ललितकला प्रज्ञा’को समेत विमोचन गरिएको थियो। प्रदर्शनीमा बाग्मती प्रदेशका २०७ कलाकारका २३९ कलाकृति राखिएका छन्।
चैत १ गतेसम्म चल्ने प्रदर्शनीको क्युरेटिङ प्रतिष्ठानका प्राज्ञसभा सदस्य सुन्दर सिंख्वालको संयोजनमा रजनी सिंख्वाल र सविना तामाङले गरेका हुन्। प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ।
कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति कान्छाकुमार (केके) कर्माचार्य, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव कुश्मा महरा ‘प्रगति’, प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य, प्राज्ञसभा सदस्य, अग्रज कलाकार, संस्कृतिकर्मी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, कलाकारलगायतको उपस्थिति रहेको थियो।
यसअघि प्रतिष्ठानले ६ वटा प्रदेशमा प्रादेशिक कला प्रदर्शनी सम्पन्न गरिसकेको छ।