बुधबार २८ फागुन, २०८१

पाकिस्तानमा रेल अपहरण गर्ने बलुचिस्तान लिबरेशन आर्मी कस्तो समूह हो ?

पाकिस्तानमा रेल अपहरण गर्ने बलुचिस्तान लिबरेशन आर्मी कस्तो समूह हो ?

काठमाडौं, २८ फागुन । पाकिस्तानमा बलुच लिबरेशन आर्मी (बीएलए)ले एउटा रेल हाइज्याक गरेको छ ।

रेलमा ४५० जना यात्रु रहेको बताइएको छ । रेल क्वेटाबाट पेशावर जाँदै थियो । बीएलएले सैन्य कारबाही गरेमा रेलमा सवार सबै यात्रुको हत्या गर्ने चेतावनी पनि दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रेलमा सवार महिला र बालबालिकालाई भने रिहा गरिएको छ ।

पाकिस्तानी पत्रिका द डनले बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दलाई उद्धृत गर्दै यो रिपोर्ट गरेको छ । “क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा पेह्रो कुन्री र गदलर बीच भारी गोलीबारी भएको रिपोर्ट आएको छ,” शाहिदले भने ।

बलुचिस्तान लिबरेशन आर्मीले सम्पूर्ण घटनाको जिम्मेवारी लिएको छ र यसलाई ‘सुव्यवस्थित रणनीतिक कारबाही’ भनेको छ । सङ्गठनले यो आक्रमण बलुच जनताको स्वतन्त्रताको सङ्घर्षको एक हिस्सा भएको र उनीहरू आफ्नो लक्ष्यप्रति पूर्ण रूपमा स्पष्ट रहेको बताएको छ ।

बीएलएले चेतावनी दिएको छ, “यदि पाकिस्तानी सेनाले कुनै सैन्य कारबाही गर्छ भने यसले गम्भीर परिणाम भोग्नुपर्नेछ । कुनै पनि सैन्य आक्रमण भएमा सबै बन्धकहरूलाई मारिनेछ, र यसको जिम्मेवारी पाकिस्तान सरकार र सेनाको हुनेछ ।”

यसबीच बीएलए कस्तो समूह हो भनेर चासो बढेको छ ।

बलुचिस्तान लिबरेशन आर्मी (BLA) पाकिस्तानको बलुचिस्तान प्रान्तमा सक्रिय एक सशस्त्र विद्रोही सङ्गठन हो । यो संस्थाले बलुच राष्ट्रवादलाई बढावा दिन्छ र पाकिस्तानबाट बलुचिस्तानको स्वतन्त्रताको माग गर्दछ ।

BLA २००० को दशकको सुरुमा स्थापित भएको थियो । यसको उद्देश्य बलुच जनताको अधिकारको रक्षा गर्नु र उनीहरूलाई स्वतन्त्रता प्रदान गर्नु हो । यो संगठनले पाकिस्तान सरकार र सेना विरुद्ध सशस्त्र सङ्घर्ष गरिरहेको छ ।

बलुचिस्तान लिबरेशन आर्मी पाकिस्तानमा धेरै आतङ्कवादी हमला र सैन्य द्वन्द्वका लागि परिचित छ । यसले विशेष गरी पाकिस्तानको सेना, सरकारी प्रतिष्ठान र चिनियाँ लगानी परियोजनाहरूलाई लक्षित गर्दछ ।

पाकिस्तान सरकारले बीएलएलाई आतङ्कवादी सङ्गठन घोषणा गरेको छ । यसबाहेक अमेरिका र बेलायत लगायत धेरै देशहरूले पनि यसलाई आतङ्कवादी सङ्गठन मानेका छन् ।

यो सङ्गठन भारत-पाकिस्तान विभाजनपछि स्वतन्त्र देशको रूपमा बाँच्न चाहन्थे भन्ने विश्वास गर्छ । तर, उसको सहमति बिना नै पाकिस्तानमा समावेश गरियो । त्यसैले बलुचिस्तानमा सेना र जनता बीचको द्वन्द्व आज पनि जारी छ ।

बीबीसीका अनुसार बलुचिस्तानमा स्वतन्त्रताको माग गर्ने धेरै सङ्गठन छन् तर बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) सबैभन्दा शक्तिशाली सङ्गठन हो । २१औं शताब्दीमा यसको प्रभाव बढेको छ ।

बीएलए बलुचिस्तानलाई पाकिस्तानी सरकार र चीनबाट मुक्त गर्न चाहन्छ । उनीहरू विश्वास गर्छन् कि बलुचिस्तानको स्रोतसाधनमाथि उनीहरूको अधिकार छ । पाकिस्तान सरकारले सन् २००७ मा बलुचिस्तान लिबरेशन आर्मीलाई आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरेको थियो ।

सिड्नीस्थित इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिसले जारी गरेको ग्लोबल टेररिज्म इन्डेक्स (GTI) प्रतिवेदन २०२५ मा पाकिस्तानलाई विश्वको दोस्रो सबैभन्दा बढी आतङ्कवादबाट प्रभावित देशको रूपमा वर्णन गरिएको छ ।

प्रतिवेदनअनुसार पाकिस्तानको खैबर पख्तुनख्वा र बलुचिस्तान सबैभन्दा बढी आतङ्कवादबाट प्रभावित क्षेत्र हुन् । देशभर भएका कुल आतंकवादी घटनामध्ये ९० प्रतिशत यसै क्षेत्रमा भएका थिए ।

प्रतिवेदनले लगातार दोस्रो वर्ष तहरीक-ए-तालिबान पाकिस्तानलाई पाकिस्तानको सबैभन्दा खतरनाक आतङ्कवादी सङ्गठनको रूपमा नाम दिएको छ । सन् २०२४ मा समूहले ४८२ आक्रमणहरू गर्‍यो, जसमा ५५८ जनाको मृत्यु भयो, जुन २०२३ को तुलनामा ९१ प्रतिशतले बढी हो ।