बिहीबार १४ चैत, २०८१

ट्रम्पसँग जुध्न बलियो शक्ति चाहियो भन्दै क्यानडेली प्रधानमन्त्रीले गरे आम निर्वाचन घोषणा

ट्रम्पसँग जुध्न बलियो शक्ति चाहियो भन्दै क्यानडेली प्रधानमन्त्रीले गरे आम निर्वाचन घोषणा

काठमाडौं, ११ चैत । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आउँदो २८ अप्रिलमा आम निर्वाचनको घोषणा गरेका छन् ।

आइतबार उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक नीतिहरूबाट जोगिन क्यानडालाई बलियो जनादेश आवश्यक रहेको उल्लेख गर्दै आम निर्वाचन घोषणा गरेका हुन् ।

‘अमेरिकासँगको ट्यारिफ युद्ध हाम्रो लागि सबैभन्दा ठूलो खतरा हो’ उनले भने, ‘उनीहरूले हाम्रो अर्थतन्त्रलाई कमजोर पार्न खोजिरहेका छन् ताकि उनीहरूले हामीमाथि हावी हुन सकून्। तर, हामी यस्तो हुन दिँदैनौं।’

कार्नीले क्यानडाको सुरक्षा र आर्थिक स्थायित्वका लागि थप प्रयास आवश्यक रहेको पनि उल्लेख गरे। साथै, उनले ट्यारिफ युद्धले समस्यामा परेका किसान र व्यवसायीहरूलाई सहयोगका योजना कार्यान्वयन गर्ने कुरा गरेका छन्।

मार्क कार्नीले १० दिनअघि मात्र क्यानडाको प्रधानमन्त्री पदको शपथ लिएका हुन्। उनले ९ फेब्रुअरीमा लिबरल पार्टीको नेताको चुनावमा ८५।९ प्रतिशत मत प्राप्त गरी विजय हासिल गरेका थिए।

प्रधानमन्त्री भएपछि कार्नीले अष्ट्रेलियासँग नयाँ राष्ट्रिय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साथै, फ्रान्स र बेलायतसँग सम्बन्ध सुधार र युरोपियन युनियनसँग नयाँ व्यापार सम्झौताका लागि छलफल पनि सुरु गरेका छन्।

उनले युवाहरूको समस्याबारे चर्चा गर्दै भने, ‘आजका युवाहरूले निकै मिहिनेत गर्नुपर्छ। तर, त्यसपछि पनि उनीहरूलाई घर भाडा तिर्न र आफ्ना बालबालिकाको भविष्यका लागि बचत गर्न कठिनाइ भइरहेको छ।’

कार्नीले आफ्नो लिबरल पार्टीजस्तै महिलाको गर्भपात अधिकारको समर्थन गर्ने स्पष्ट पारे। उनले भने, ‘हामीलाई थाहा थियो, ट्रम्पको ट्यारिफ र कडा नीतिहरूको सामना गर्न तथा क्यानडाको अर्थतन्त्र सुधार्न ठोस कदम आवश्यक छ।’

कार्नी आफ्ना विपक्षीहरूभन्दा धेरै सतर्क रूपमा चुनावी अभियानमा जुटेका थिए। प्रधानमन्त्री पदको उम्मेदवार बनेपछि चुनाव सम्पन्न नहुँदासम्म उनले एक पनि अन्तर्वार्ता दिएका थिएनन्।