सेयर बजार : साढे १८ अर्बको कारोबार, २ प्रतिशत बढ्यो हाइड्रोपावर
काठमाडौं । विगत ८ कारोबार दिनदेखि सेयर बजार लगातार बढेको छ । यद्यपि पछिल्ला दुई दिन वृद्धि एकल अंकमा खुम्चिएको छ । बुधबार ५.१७ अंक बढेको बजार आज बिहीबार ३.७६ अंक बढ्यो । योसँगै नेप्से परिसूचक २९८२ अंकमा कायम भएको छ ।
बिहीबार पनि बजारमा केही उतारचढाव देखियो । ११ ः ३८ बजे २९९० अंकमा पुगेको नेप्से दिउँसो १ ः २३ बजे २९६४ अंकसम्म झरेको थियो ।
उतारचढावपूर्ण बजारमा कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन १९ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १८ अर्ब ४९ करोडको भयो ।
१२३ कम्पनीको मूल्य बढ्दा १२७ को घट्यो । आज हाइड्रोपावर समूह सबैभन्दा धेरै २.०० प्रतिशत बढ्यो । विकास बैंक १.०६, होटल तथा पर्यटन ०.४६, लगानी ०.२५ तथा व्यापार ०.२८ प्रतिशत बढे ।
बैंकिङ ०.६१, फाइनान्स ०.७६, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.५८, माइक्रोफाइनान्स ०.२३, निर्जीवन बीमा ०.५७ तथा अन्य ०.०९ प्रतिशत घटे ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा ग्रिन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी र स्वेतगंगा हाइड्रोपावर छन् । त्यस्तै हिमालयन हाइड्रोपावरको ८.४१ तथा मायाखोलाको ७.४ प्रतिशत मूल्य बढ्यो । उन्नति सहकार्य लघुवित्तको ३.५८ तथा समृद्धि फाइनान्सको ३ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, ङादी ग्रुप, ग्रिन भेन्चर, लुम्बिनी विकास बैंक र हिमालयन रिइन्स्योरेन्स छन् । बजारको पूँजीकरण ४९ खर्ब ७७ अर्ब पुगेको छ ।
