आइतबार २१ मंसिर, २०८२

नाइमा नेपाल मोबिलिटी एक्स्पो : ३५ वटा नयाँ सवारी साधन सार्वजनिक गरिने

नाइमा नेपाल मोबिलिटी एक्स्पो : ३५ वटा नयाँ सवारी साधन सार्वजनिक गरिने

काठमाडौं । यही साउन २१ गतेदेखि २५ गतेसम्म कनाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ हुने भएको छ । नेपाल अटो मोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा)को आयोजनामा नाइमा नेपाल मोबिलिटी एक्स्पो हुने भएको हो ।

नाइमाका अध्यक्ष रितु सिंह वैद्यले नाइमा मोबिलिटी एक्स्पो नेपालकै सबैभन्दा ठूलो र महत्त्वपूर्ण अटो मोबाइल प्रदर्शनी बन्ने बताइन् । उनले एक्स्पोमा ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुने जानकारी दिइन् । प्रदर्शनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मसियल गाडीहरू सार्वजनिक गरिने आयोजकको तयारी रहेको छ ।

अटो एक्स्पो समिति प्रमुख शिरीष कुमार मुरारकाका अनुसार यो एक्स्पो काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ । एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने उनले जानकारी पनि दिए ।

एक्स्पोको मुख्य प्रायोजकमा एभरेष्ट बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । प्रदर्शनीमा टिकेटिङ्ग पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राईड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वल्र्ड लिङ्ग, हस्पिट्यालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाइन हस्पिटल, टेलिकम पार्टनरमा एन्सेल र म्यानेज्मेण्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।

प्रदर्शनीका आगन्तुकहरूलाई प्रायोजक कम्पनीहरूले पनि विशेष प्रावधानको व्यवस्था गरिने भएको छ । राईड पार्टनर पठाओले प्रदर्शनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राईडहरुमा ३० प्रतिशतसम्मको छुट दिने भएको छ । मेडिकल पार्टनर फ्रन्टलाइन हस्पिटलले प्रदर्शनी स्थलमा चौबिसै घण्टा एम्बुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सा सेवा प्रदान गर्ने भएको छ ।

यस बाहेक संस्थाले प्रदर्शनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता पनि सार्वजनिक गरेको छ । यो प्रतियोगितामा २१ साउनसम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अपलोड भएका १० उत्कृष्ट भिडियोहरू प्रत्येकलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

प्रदर्शनीको पाँचौँ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहने प्यानल डिस्कसन गरिने आयोजकले जनाएको छ । प्रदर्शनीको पहिलो दिन अनिल केशरी शाहले २ बजेदेखि ५ बजेसम्म “मोबिलिटी हिजो, आज, भोलि” विषयमा ज्ञानवर्धक सत्र सञ्चालन गर्ने भएका छन् ।

अन्य दिनको सत्रहरूमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतको इन्स्टिच्युट अफ रोड ट्राफिक एजुकेशन जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूका दक्ष तथा विज्ञ व्यक्तित्वहरूको उपस्थिति रहने छ ।

प्रदर्शनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विक्री भएका टिकटहरूको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोसिपहरू प्रदान गरिने आयोजकले जनाएको छ ।