आइतबार २१ मंसिर, २०८२

कविता : बा + संघर्ष = म

कविता : बा + संघर्ष = म

थाकेका खुट्टा, 
घामले पोलिएको अनुहार,
तर ओठमा सधैं मुस्कान,

आफ्ना सपना भुलेर
मलाई सपना देख्न सिकाउनुभयो!

खेतको डिलदेखि परदेशको बाटोसम्म
घामपानीसँग जुध्दै
आफ्नो पसिनाको रङले
मेरो भविष्यको रङ्गाइदिनुभयो!

रातभरि निद्राविहीन आँखा,
कहिल्यै नदेखाएका आँसु —
तर म हाँसोको कारण बन्न सकूँ भनेर
सबै पीडा मनमै लुकाउनुभयो!

आफ्नो अधुरो सपना भुलेर
मेरो सपनालाई पूरा गर्नुभयो,
नाङ्गा खुट्टाले काँडामा हिँडेर
मेरो लागि जुत्ता किन्नुभयो,
भोकै पेटमा ढुङ्गा बाँधेर
मेरो मुखमा अन्नको दाना हाल्नुभयो,
पसिनाको थोपा–थोपा बेचेर
मेरो भविष्य निर्माण गर्नुभयो!

तपाईँको त्याग, तपाईँको संघर्ष
मेरो जीवनको मेरुदण्ड हो,
तपाईँको माया र योगदान
शब्दले बयान गर्न सक्दिन म!

तपाईँका अनुहारका चाउरीहरू
मेरो जीवनका बाटाहरु हुन्।
तपाइको काँधमा टाँसिएको थकाइ
मेरो सफलताको जग हो।

कहिल्यै आँसु देखाउनु भएन,
तपाईँका आँखाभित्र
र पनि समुद्रजस्तै करुणा छचल्किएको  
मैले आभास गर्दथे
तपाईँका कठोर शब्दहरू
मलाई अनुशासनमा बाध्ने काडेतार लाग्थे,
तर पछि बुझें
त्यो काँडामुनि फुलेका गुलाब त
मेरो भविष्यका फूल थिए,

कहिलेकाहीँ तपाईँको मौनता
पर्खालजस्तो ठान्थें,
तर त्यो मौन पर्खालभित्र
मेरो लागि बलेको प्रार्थनाको दियो रहेछ।

कहिलेकाहीँ कठोर वाक्य,
कहिलेकाहीँ कठोर अनुहार,
त्यो कठोरताको गर्भभित्र
लुकेको थियो असीम करुणा!

कहिले काहि आँखामा देख्थे 
मेरै लागि चिन्ताको झिल्को।
म कमजोर हुँदा
माथि उठाउने कठोर हात,
मेरो आँसु पुछ्ने नरम हत्केला
त्यो हातमै त छ —
कठोरता र प्रेमको सुन्दर मिलन।
त्यो अँखा मै त छ सुन्दर सपनाको गहिराई,

तपाईँको करुणा, 
तपाईँको अनुशासन
मेरो जीवनको दीपक हुन्।

मैले गल्ति गर्दा
"फेरि गल्ती नगर" भन्ने आवाज
मेरो आत्मबल बढाउने मन्त्र रहेछ,
अबेर सम्म बाहिर बस्दा
गालीसहितको पर्खाइ 
असल मार्ग हिडोस भन्ने खोजि रहेछ,

तपाईँका हात 
पसिनाको खेतमा उमारिएका कथा हुन्,
जहाँ 
मेरो नाम लेखिएको
एक अदृश्य कविता छ।

तपाईँको कठोरता — अनुशासनको झरी हो,
तपाईँको करुणा — आशीर्वादको इन्द्रेणी हो,
तपाईँको प्रेम —जीवनलाई सिंचित गर्ने नदि हो,

मेरो बालपनको खेलमैदानमा
अटल पर्वतझैँ उभिनुभयो
कहिल्यै नढल्ने चट्टान भैदिनु भयो 
जहाँ मैले संघर्षको बाटो चढ्न सिकें!

तपाईंको जिन्दगिको चट्टानि पर्वतको फेदीमा
निरन्तर बगिरहेको थियो
करुणाको स्वच्छ नदी,
जसले मेरो थकाइ धोएर
एउटा उर्जावान जिवन दियो,

ब्रह्माण्ड जस्तै फैलिएको
अनन्त आकाशजस्तो 
तपाईँको प्रेमको छायाँभित्र
म सुरक्षित भए,

तपाईँको कठोरता बिना
म बलियो हुदैनथेँ।
तपाईँको करुणा बिना
म नमीठो जीवन चाख्दैनथेँ।
तपाईँको प्रेम बिना
म अस्तित्वमै रहने थिइनँ।

जब तपाईँको मुख हेर्छु,
म देख्छु —
पर्वतको गाम्भीर्यता,
नदीको शीतलता,
र आकाशको विशालता
एउटै मुहारमा एकत्रित भै बसेको,

मेरो श्रद्धा यही छ 
म त तपाईँको रगत हुँ,
तपाईँको पसिना हुँ,
तपाईँको अधूरा सपना पूरा गर्ने प्रतिज्ञा हुँ।

– रियल तेज 
धनगढी,कैलाली