जेनजी आन्दोलन प्रभाव : सिजनमै धराशायी बन्यो अटो बजार, चौपट गाडी व्यापार
काठमाडौं । दशैं–तिहार नेपाली अटोमोबाइल बजारका लागि परम्परागत ‘गोल्डेन सिजन’ हो । तर यसपालि जेनजी आन्दोलन र हिंसात्मक प्रदर्शनले बजार ठप्प बनेको छ ।
थापाथलीसहित देशभरका दर्जनौँ शोरुममा आगजनी र तोडफोड हुँदा अर्बौंको क्षति भएको छ । सुजुकी, टाटा, हुन्डाईदेखि सीजी मोटर्ससम्मका ब्रान्ड ध्वस्त भएका छन् । नयाँ गाडी डेलिभरी पर्खिरहेका हजारौं ग्राहकले बुकिङ रद्द गरेका छन् ।
व्यवसायीले अटो शोमा साढे ७ हजारभन्दा बढी युनिट बुकिङ पाएका थिए तर आन्दोलनपछि ६०–७० प्रतिशत रद्द भइसकेका छन् । यसले लगानी फस्न र ग्राहक विश्वास गुम्न थालेको छ ।
तातोपानी–रसुवागढी नाका अवरुद्ध हुँदा आयात पनि प्रभावित छ । अस्थायी शोरुम खोलेर केही सेवा सुरु भए पनि बजारमा उत्साह हराएको छ ।
व्यवसायीहरूका अनुसार यो दशैं–तिहारमा अटो बजार लगभग शून्य अवस्थामा पुगेको छ । राजनीतिक अस्थिरता र सुरक्षाको अभावले गर्दा पुनः सामान्य हुन दुई–तीन वर्ष लाग्न सक्ने अनुमान गरिएको छ ।

