भारतले भन्यो- नेपाली नागरिक शाम्भवीलाई विमानस्थलबाट फर्काउनुमा हाम्रो भूमिका छैन
काठमाडौं । नेपाली नागरिक शाम्भवी अधिकारीलाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको घटनामा आफ्नो भूमिका नरहेको भारत सरकारले स्पष्ट पारेको छ ।
अधिकारी काठमाडौंबाट नयाँदिल्ली हुँदै जर्मनीको बर्लिन जाँदै गर्दा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको थियो ।
भारतको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यो घटनामा भारतीय अध्यागमनका कर्मचारीको भूमिका नरहेको बरु उनले टिकट काटेको सम्बन्धित एयरलाइन्सले नै फर्काएको प्रष्टीकरण दिएको हो ।
‘यस सन्दर्भमा स्पष्ट पारिन्छ कि यस सम्पूर्ण घटनामा भारतीय अध्यागमन अधिकारीहरूको कुनै भूमिका छैन’, भारतको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘उनी एयर इण्डियाको विमानमार्फत काठमाडौंबाट दिल्ली आइपुगेकी थिइन् र त्यसपछि कतार एयरवेजको अर्को विमानमार्फत बर्लिन जान लागेकी थिइन् । उनलाई यात्रा गर्न नदिने निर्णय एयरलाइन्सले नै गरेको हो ।’
शाम्भवीको भिसा वैधता हेरेर जर्मनीको गन्तव्य देशका नियम तथा आवश्यकताका आधारमा उनलाई बोर्डिङ अनुमति नदिएर एयरलाइन्सले नै काठमाडौं फर्काएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा थप लेखिएको छ, ‘यस्तो प्रक्रिया प्राय: गन्तव्य देशका कानुनी प्रावधानअनुसार नै गरिन्छ । उनले पछि आफ्नो यात्रा मिति फेरि तय गरी काठमाडौंबाट अर्को मार्ग प्रयोग गरेर जर्मनी गएकी थिइन् ।’
शाम्भवीलाई भारतबाट काठमाडौं फर्काइएको घटना सार्वजनिक भएपछि भारतीय पक्षले नेपालका नागरिकहरूप्रति पूर्वाग्रह वा भेदभाव गरेको भन्दै आलोचना भएको थियो । तर भारतको गृह मन्त्रालयले त्यसलाई गलत रूपमा प्रस्तुत गरिएको जनाएको छ ।
‘अन्तर्राष्ट्रिय ट्रान्जिट यात्रुहरूलाई आफ्नो अगाडिको यात्राका लागि भारतीय अध्यागमनसँग सम्पर्क गर्नुपर्ने हुँदैन । यो यात्रु र एयरलाइन्सबीचको मामिला हो, जसमा भारतीय अध्यागमन अधिकारीहरूको कुनै संलग्नता हुँदैन,’ भारतको गृह मन्त्रालयले भनेको छ ।
मन्त्रालयले नेपालका नागरिकहरूप्रति कुनै पनि भारतीय निकायको पूर्वाग्रह वा भेदभाव नरहेको पनि प्रष्ट्याएको छ ।
