‘गतिशील लोकतान्त्रिक पार्टी’ले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र, बुद्ध एयर मालिक सहभागी
काठमाडौं। व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईंसहितका व्यक्तिहरू संलग्न ‘गतिशील लोकतान्त्रिक पार्टी’ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। उनीहरूले गत ३० असोजमा दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए।
पार्टीको अध्यक्षमा दिनेश प्रसाईं र महासचिवमा पियुषप्रसाद कायस्थ चयन भएका छन्। बुद्ध एयरका मालिक बस्नेत भने सदस्यको रूपमा पार्टीमा रहेका छन्। सोमबार पार्टीका नेताहरू आयोगमा पुगेर प्रमाणपत्र लिएका हुन्।
प्रमाणपत्र पाउँदा बस्नेतले भने, “राजनीतिमा हामी सेवा गर्न आएका हौं। राष्ट्र जुन प्रस्थान बिन्दुमा छ, त्यसलाई सही मार्गमा अघि बढाउनुपर्छ।”
पार्टीको विधान अनुसार पदाधिकारीहरूले चुनाव नलड्ने व्यवस्था छ। बस्नेत सदस्य भएकाले उनी चुनावमा भाग लिन बाधा नभएको उल्लेख गरिएको छ।
पार्टीले नेपालमा नियमसंगत राजनीतिक संस्कारको विकास र स्थापना आवश्यक रहेको बताएको छ।
